२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

होटलमा कोठा नपाएपछि निजी घरमा पर्यटकको स्वागत

घुम्न आउने पर्यटकलाई राख्ने नयाँ शैली

अतिथि देवो भवः। हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिँदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ ।  

उहिले गाउँघरमा पाहुना आउँदाको झल्को दिने गरी अहिले पनि समस्यामा परेका पाहुनालाई गाउँदेखि शहर बजारमा बास दिने गरिन्छ । यसको बेलाबोलमा उदाहरण समेत हाम्रो समाजमा भेटिन्छ । म्याग्दीको अन्नपूर्ण बेसक्याम्पसबाट फर्किएका ६ जनालाई बेनी न्यूरोडस्थित नमस्ते मोबाइल सेन्टरका सञ्चालक अजुर्न आचार्यले आफ्नो घरमा राखेका थिए ।  

‘उहाँहरूले कोठा नपाएको जानकारी आएपछि मैले घरमा राखे, साँझका पाहुना देवता स्वरुप मानिन्छन्, हामीले स्वागत गर्न पाइयो, यो सिजनमा होटलमा कोठा नपाएकालाई कोठा भएमा एक रात घरमा पनि राख्न सकिन्छ’ आचार्यले भने । साँझमा आएका पाहुनाले बास दिएपछि बिहान अर्शिवाद दिएर घर फर्किएको आचार्यको भनाई छ ।  

दशैंतिहारसँगै छठ पर्वसम्म बिदा भएकाले पर्यटकहरूको ठूलो संख्या म्याग्दी र मुस्ताङ खण्डमा निस्किएपछि यहाँका होटल तथा लजहरू भरिभराउ भएका छन् ।  

म्याग्दीका पर्यटकीयस्थल तथा मुस्ताङबाट फर्किने क्रममा समस्यामा परेका पर्यटकलाई म्याग्दी उद्योग वाणिज्य संघले समेत आवश्यक समन्वय गरिरहेको अध्यक्ष सुविन श्रेष्ठले बताए ।  

‘एकरात बास बस्न समस्या भएकालाई सामाजिक संघसंस्थाको भवनमा भएपनि ब्यवस्थापन गर्ने प्रयासमा छौँ, कोठा नपाएमा हामीलाई सम्पर्क गर्नुहोला, समन्वयको प्रयास निरन्तर हुन्छ’ अध्यक्ष श्रेष्ठले भने । अध्यक्ष श्रेष्ठले म्याग्दी र मुस्ताङ धार्मिक क्षेत्र भएकाले समेत यहाँ आउने पर्यटक तीर्थयात्रीको रुपमा सम्मान गर्नुनर्पे बताए ।  

शुक्रबार करिब ४० जनालाई होटल बाहेक बैकल्पिक स्थानमा ब्यवस्थापन मिलाइएको थियो ।  

म्याग्दीमा कोठा नपाएकालाई गलेश्वर शिवालय क्षेत्र विकास कोष, गलेश्वर अन्न क्षेत्रमा समेत बास बस्ने सुविधा मिलाइएको थियो । जिल्लाभित्र प्रवेश गरेर समस्यामा परेका पर्यटकलाई जिल्लाका सरोकारवाला निकायले समेत समन्वय र सहजीकरण गरिरहेका छन् । सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा रहेका सार्वजनिक संघसंस्थाको भवनमा एक रातका लागि सामुहिक बसाईका लागि भइरहेको पहलले समेत रातको समयमा कोठा नपाउने पर्यटकलाई राहत मिल्ने छ । होटल ब्यवसायीका अनुसार मंगलबारसम्म पोखरा–बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङका साना तथा ठूला होटलमा थामिनसक्नु भीड हुने छ भने अधिकांस होटल बुकिङ छन् ।  

होटल बुक गरेर मात्रै आउन म्याग्दीका प्रमुख जिल्ला अधिकारीको आग्रह  

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर मात्र म्याग्दी र मुस्ताङ निस्कन प्रजिअ तिवारीले आग्रह गरे ।

‘यो समयमा म्याग्दी र मुस्ताङमा पर्यटकको चाप अत्याधिक छ । जसका कारण होटेल नपाएको गुनासो पनि आएको छ । अधिकांश होटेलहरु बुक भैसकेका छन् । घुम्न आउँदा बस्ने ठाउँको सुनिश्चितता गरेर मात्र आउनुहोला,’ प्रजिअ तिवारीले भने । अहिले मुस्ताङको मार्फा, मुक्तिनाथ, कोरला नाका, म्याग्दीको नर्थ अन्नपूर्ण बेस क्याम्प, तातोपानी जाने पर्यटकको घुइँचो छ । यस्तै मुस्ताङ जादा फोरविल गाडीको प्रयोग गर्न र न्यायो कपडा लगाएर आउन प्रजिअ तिवारीले आग्रह गरे ।

‘केही ठाउँमा बाटो बन्दै गरेको छ । कतै पहिरो गएर खाल्डाखुल्डी छ । त्यसैले फोरविल गाडीको प्रयोग गर्नुहोला,’ उनले भने, चिसो बढेकाले न्यानो कपडासहित घुम्न निस्कनुहोला ।’

 

प्रकाशित: ८ कार्तिक २०८२ १६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App