१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

गत वर्ष दसैँमा आन्तरिक र बाह्य पर्यटक जलजला पुगेका थिए। यो वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किन्छन्। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी दुवैतिरबाट जोडिएको छ। नजिकैबाट यहाँका दर्जन हिमशृङ्खला र सूर्योदय अवलोकन गर्न सकिन्छ, त्यसैले पर्यटकको आकर्षण बढ्दो छ।  

पाँच वर्षअघिसम्म जलजला ओझेलमा थियो। तर, पछिल्लो समय तीव्र प्रचारले हिउँदमा पर्यटक यहाँ आउँछन्। ढोरपाटन उपत्यकाबाट करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा गत वर्ष सडक पुगेको छ। ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको छ। सडक जोडिए पनि बर्खामा सवारी नचल्दा पर्यटकले सास्ती खेप्छन्।

ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठूला जङ्घार पार गर्नुपर्छ, त्यसैले यो वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन्। जलजला पुग्न तीन ठाउँमा गाठेसाँघु तर्नुपर्छ। तर, यो वर्ष वर्षाले अहिलेसम्म साँघु राखिएको छैन, ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए। दुई वर्षदेखि जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको, तर यो वर्ष मौसमले गर्दा पुग्न नसकेको उनले सुनाए।

ढोरपाटन–जलजला सडकको गुरुघाटमा एक र गुर्जाघाटमा दुई काठको साँघु राख्नुपर्छ। गत वर्ष राखिएको साँघु बर्खाले बगाएको र अब केही दिनमा सडक सफा गरेर साँघु राख्ने उनले बताए। म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफा गरे पर्यटक सहजै जलजला पुग्ने उनको भनाइ छ। अहिले दैनिक सय पर्यटक ढोरपाटन आउँछन् र जलजला जान नपाउँदा गुनासो गर्छन्।

‘गत वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले यो क्षेत्र सुनसान थियो, गोठाला मात्र पुग्थे, यो ठाउँ साँच्चै सुन्दर छ, प्रचारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो,’ अध्यक्ष पुनले भने, ‘यो वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु राख्नुपर्छ, अब केही दिनमै त्यो काम गर्छौं, तिहारसम्म पर्यटक पुग्नेछन्।’

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन हिमाल एकै ठाउँबाट नजिकै देख्न सकिन्छ, त्यसैले पर्यटकको आकर्षण बढ्दो छ। तुलसीपुर दाङबाट घुम्न आएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो गरे। सामाजिक सञ्जालमा जलजलाका हिमशृङ्खलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको उनले सुनाए।

उनले भने, ‘ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भएको छैन, ठाउँठाउँमा पहिरो र खोलाले यात्रा गर्न सकिँदैन भन्ने सुनेँ, त्यसैले यो वर्ष जलजला पुग्ने इच्छा पूरा भएन, यो साल धेरै वर्षा भएकोले पनि होला।’ रोकायाले १२ जनाको समूहमा घुम्न आएको र जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको बताए। अहिले जलजला पुग्नेगरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किन्छन्। रासस

प्रकाशित: २४ आश्विन २०८२ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App