१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड

विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र टीकापुर उद्यानलगायतका पर्यटकीयस्थलहरु हिजोआज आन्तरिक पर्यटकले भरिभराउ छन् ।  

घोडाघोडी ताल क्षेत्रमा प्रवेश गर्न घोडाघोडी सामुदायिक वनले प्रतिव्यक्ति १० शुल्क लिने गरेको छ । ताल घुम्नका लागि केही दिनयता दैनिक दुई हजार बढी पर्यटक आउने गरेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले जानकारी दिए ।  

टीकापुर कर्णालीलगायतका क्षेत्रमा वनभोजका लागि आउनेहरु पनि घोडाघोडी ताल घुम्न आउने गरेको उनले बताए ।  

पहिलेभन्दा यस ताल आसपासमा धेरै परिवर्तन भएको सल्यानबाट घुम्न पुगेका महादेव गिरीले बताए । ‘वनभोजका लागि टीकापुर आएका थियौँ’, उनले भने, ‘एकछिन पुगौँ न त भनेर यहाँ पनि आयौँ । घुम्न, रमाउन र फोटो खिच्न निकै रमणीय स्थान बनेको रहेछ ।’

चाडबाडको लामो बिदा भएकाले पनि यहाँका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल बढेको हो। यहाँ स्थानीय ‘फोटोग्राफर’ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा २० भन्दा बढी फोटोग्राफर छन् । ‘तिहारपछि दिनको रु तीन हजार ५०० देखि पाँच हजारसम्म आम्दानी गरिरहेको छु’, फोटोग्राफर प्रेम शाहले भने ।  

पर्यटकको चहलपहलसँगै होटल व्यवसाय पनि फस्टाएको होटल व्यवसायी सुरेश बमले बताए ।

घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडीमा पर्यटकका लागि पैदलमार्ग निर्माण गरिएका छन् । घोड सवारसँगै ढुङ्गामा सयर गर्न पनि पाइन्छ ।  

त्यसैगरी जिल्लाको चिसापानीमा पनि हाल दैनिक एक हजार बढी पर्यटक आउने गरेका छन्। कर्णाली नदी र पुल यहाँको आकर्षणको केन्द्र बनेको छ । कर्णाली पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भीड लाग्ने गरेको छ।  

विगतका वर्षहरु भन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको चिसापानी बजारस्थित लुक होटेलका सञ्चालक शशी लिगलले बताए । सामाजिक सञ्जालका कारण पनि पर्यटकको सङ्ख्या बढेको उनको भनाइ छ । टीकापुर उद्यानमा पनि वनभोजका लागि आउनेको भीड छ । राजा महेन्द्रका पालामा बनेको यो उद्यान देशकै ठूलो उद्यान मानिन्छ। 

प्रकाशित: १० कार्तिक २०८२ २१:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App