२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

पर्यटकीय राजधानी पोखरा:सडकभरि फोहोरको डंगुर

सडकमा फोहोर फालेमा जरिवाना गर्दै पत्रिकामा नाम प्रकाशित गरिदिने महानगरको चेतावनी

पोखरा न्यूरोडको मुख्य सडक किनारमा थुपारिएको फोहोर। पोखरामा एकमहिनादेखि फोहोर उठेको छैन। सहरमा दुर्गन्ध फैलिन थालेको छ। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पर्यटकीय राजधानी पोखरा अहिले फोहोरले दुर्गन्धित बनेको छ। पोखरा सहरको फोहोर नउठेको एकमहिना पुगेको छ। घरघरमा मात्र नभई सहरका चोकचोक र सडक छेउमा थुपारिएको फोहोरको ठूलोठूलो थुप्रो देख्न सकिन्छ। लामो समयदेखि फोहोर नउठ्दा बजारमा दुर्गन्ध समेत फैलिन थालेको छ। सडक किनार, चोक, बिजुलीका पोलको वरिपरि मात्र नभई मुख्य सडकको बीचबाटोमै फोहोर थुप्रो लाग्न थालेको छ।  

व्यवस्थापन गर्ने ठाउँको विवाद बढ्दै जाँदा फोहोर उठ्न नसकेको हो। पोखरा महानगरले यसअघि पोखरा महानगरपालिका–३२ लामेआहालमा फोहोर व्यस्थापन गर्दै आएको थियो। तर, लामेआहालमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ भरिएपछि नयाँ ठाउँको खोजी गरिरहेको महानगरले बताएको छ। निर्वाचनको मिति नजिकिएसँगै बजारभर फोहोरको थुप्रो लाग्दा महानगरको आलोचना समेत भएको छ। घरघरमा थुप्रिएको फोहोरका कारण नागरिकहरु अत्तालिन थालेका छन।  

महानगरले लामेआहालमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ भरिएको र नयाँ ठाउँ नपाएकोले व्यवस्थापन गर्न नसकेको बताउँदै आएको छ। फोहोर व्यवस्थापनका लागि महानगरले विकल्प खोजिरहेको भएपनि नयाँ ठाउँबारे अझै यकिन भईसकेको छैन। फोहोर व्यवस्थापनमा सघाउनका लागि महानगरले बुधबार मात्र सर्वदलीय र सर्वपक्षीय भेला समेत आयोजना गरेको थियो। महानगरलाई फोहोर व्यवस्थापनमा भइरहेको स्थानीय अवरोधको समन्वयका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन लगायत सरोकारवालासँग महानगरले आग्रह गरेको थियो।  

सर्वदलीय बैठकमा नगर प्रमुख धनराज आचार्यले फोहोर व्यवस्थापन भइरहेको लामेआहाल ल्याण्डफिल साइट भरिएपछि फोहोर व्यवस्थापनका लागि दर्जनौं सम्भावित स्थानको खोजी गरिएपनि विभिन्न कारणले टुंगोमा पुग्न नसकेको बताएका थिए। महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान खोजिरहेको उल्लेख गर्दै उनले शनिबारसम्म बजार क्षेत्रको सबै फोहोरको व्यवस्थापन गरिने बताएका थिए। तर, अहिलेसम्म फोहोर कहाँ फ्याक्ने भनेर टुंगो भने लागेको छैन।  

महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालका अनुसार अहिलेसम्म फोहोर व्यवस्थापन गर्ने ठाउँ पहिचान भएको छैन। ‘फोहोर फ्याक्न सकिन्छ की भनेर धेरैतिर हेरेका छौं। तर, अहिलेसम्म कहाँ फ्याक्ने भन्ने टुंगो लागेको छैन। स्थायी रुपमा समाधान हुनेगरि तत्कालै फोहोर उठिहाल्ने अवस्था देखिन्न,’ उनले भने, ‘पोखरा महानगरभित्रका दर्जनौ उपयुक्त ठाउँ खोजि गरेपनि सबैतिर बिरोध भएकोले छोटो समयमै फोहोर उठिहाल्ने अवस्था छैन।’ अर्यालका अनुसार व्यवस्थापन गर्न नसक्दा अहिले चोक, मुख्य बजार, सरकारी कार्यालय अघि फोहोरको थुप्रो लागेको छ।  

‘घरघरमा फोहोर थुप्रिएको बारेमा महानगर जानकार छ। तर, फोहोर कहाँ फ्याक्ने भन्नेमा एकमहिना बितिसक्दा पनि ठाउँ टुंगो लागेको छैन,’ उनले भने, ‘निकै नै चूनौतिपूर्ण अवस्था सिर्जना भएको छ। कम्तिमा २०/२५ ठाउँमा हामीले हेरिसकेका छौ। तर, कहिले के त कहिले कुन कारणले फोहोर फ्याक्ने अवस्था रहेन।’ 

पानी परेको खण्डमा थुप्रिएको फोहोरलाई भेलले बगायो भने त्यो झनै समस्याग्रस्त हुने उनले बताए।  अर्यालका अनुसार पर्यटकीय सहर भएकोले लेकसाइड क्षेत्रको फोहोर भने व्यवस्थापन गरिएको छ। होटल, रेस्टुरेन्टबाट धेरै परिमाणमा फोहोर निस्कने र त्यो फोहोर व्यवस्थापन गर्न नसके पर्यटन क्षेत्रमा असर पर्ने भएकोले लेकसाइड क्षेत्रको फोहोर भने जसोतसो व्यवस्थापन गरिएको उनले बताए।

‘पर्यटकीय क्षेत्र भएकोले लेकसाइडबाट बढी फोहोर निस्कन्छ। पर्यटकीय क्षेत्रमा सडकमा फोहोर राखिरहँदा नराम्रो सन्देश जान्छ। विदेशी पाहुनाले नाक छोपेर हिड्नुपर्ने अवस्था नआओस भनेर लेकसाइडको फोहोर भने उठाएको उनले बताए। लेकसाइडको फोहोर उठाएर विभिन्न ठाउँमा खाडल खनेर पुरेर भएपनि व्यवस्थापन गरेको उनले बताए।  

फोहोर व्यवस्थापनका लागि पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमा सार्वजनिक गरेको खाडल।  

पोखरा महानगरले फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि तीनवर्षदेखि नै प्रयास थालेको भएपनि अहिलेसम्म टुंगो लगाएको छैन। फोहोर व्यवस्थापनको अभ्यास हेर्न विभिन्न सहरमा गएपनि पोखराको फोहोर स्थायी रुपमा कहाँ व्यवस्थापन गर्ने भनेर टुंगो भने लगाउन सकेको छैन। पछिल्लो समय मंसिर २ गते एक विदेशी कम्पनिसँग सम्झौता गरेर ६ महिना मित्र स्थायी प्रशोधन केन्द्र बनाउने प्रयास थालेको भएपनि जग्गा विवादका कारण नसकिएको अर्यालले बताए। 

उनका अनुसार उक्त कम्पनिले ६ महिना भित्र जग्गा आफैले खोज्ने र महानगरले सहजीकरण गर्ने भन्ने सम्झौता भएको छ। तर, दुई महिना हुनैलाग्दा पनि जग्गाको यकिन भएको छैन। ६ महिनाभित्र जग्गा खोज्ने र त्यसपछि संरचना बनाउने भनिएपनि जग्गा यकिन नभएको अर्यालले बताए।  

‘सम्झौताको ६ महिनाभित्र काम सुरु नभए सम्झौता तोडिन्छ। तर, न त कम्पनिले जग्गा पाउन सकेको छ। न महानगरले नै पहल गरेर जग्गा उपलब्ध गराउन सकेको छ,’ उनले भने, ‘महानगरले नै फोहोर फाल्ने ठाउँ पाएको छैन भने यो बेला स्थायी प्रशोधन केन्द्रका लागि जग्गा पाउन कम्पनिलाई मुस्किल छ।’ 

उनका अनुसार सम्झौता अनुसार काम भएमा उक्त कम्पनिले आफै लगानी गरेर प्रशोधन केन्द्र बनाउनुपर्नेछ।  लामेआहालमा फोहोर खसालिएको ठाउँ भरिएपछि नयाँ ठाउँ खोज्ने पहलमा महानगर लागेको थियो। जेनजी आन्दोनका क्रममा जलेको फोहोरको ठूलो परिमाण लामेआहालमा व्यवस्थापन गर्नुपर्दा छिटोगरि भरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाई छ। लामेआहालपछि  पोखरा–३२ कै मझुवामा फोहोर व्यवस्थापन गर्न सकिनेबारेमा समेत छलफल भएपनि त्यसमा पनि टुंगो लाग्न नसकेको महानगरको भनाई छ।  

एकातिर ल्याण्डफिलसाइट अभावमा फोहोर सडकमै थुप्रिएको छ भने अर्काेतिर पोखरा–३३ झाक्रिखोलामा स्थायी ल्याण्डफिल साइटको आधुनिक फोहोर प्रशोधन केन्द्र निर्माणको योजना अघि सारेको भएपनि फोहोर प्रशोधन केन्द्रको विवादले स्थानीय आन्दोलनमा उत्रिएका थिए। फोहोर व्यवस्थापन गर्न नसकेपछि पोखरा महानगर अहिले निकै आलोचित छ। पर्यटकीय राजधानीमा फोहोरको डंगुर सडक किनारमा थुप्रिएको अवस्थामा महानगरले आलोचना खेपिरहेको छ।  

तत्काल फोहोर उठाउन नसक्ने हो भने अझै बढि दुर्गन्ध फैलने चिन्ता महानगरबासीको रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने बेलामा पोखरा महानगरपालिकाले १४ नम्बर वडाको बाच्छेबुडुवास्थित पुरानो ल्याण्डफिलसाइट बन्द गरेर पोखरा–३२ को लामेआहालस्थित सेतीनदि किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो।  

स्थानीयको विरोधका बाबजुत पनि महानगरले बढिमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो। तर, त्यो ठाउँ अहिले भरिएपछि नयाँ ठाउँ खोज्न महानगर बाध्य भएको हो। पोखरामा दिनमा १ सय ५० देखि २ सय टन फोहर उठ्छ। यसमा औद्योगिक क्षेत्र र अस्पतालको फोहोर पर्दैन। पोखराभित्रको फोहोर दिनहुँ २० वटा गाडीमार्फत उठाइन्छ। महानगरले विभिन्न ६ वटा निजी कम्पनिलाई फोहोर संकलन गर्ने जिम्मा दिएको छ। हरेक घरबाट शुल्क उठाएर ती कम्पनिले फोहोर संकलन गर्दै आएका छन्।  

सडकमा फोहोर फाले जरिवाना र पत्रिकामा नाम प्रकाशित गरिदिने

यसैबीच पोखरा महानगरका प्रमुख धनराज आचार्यले विहीबार बेलुकी सामाजिक सञ्जालमा सूचना जारी गर्दै विहीबार साँझदेखि पोखरा भित्र फोहोर संकलन गर्ने गाडी सञ्चालनमा आउने जानकारी दिएका छन। महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रुपमा फोहोर व्यवस्थापनको काममा सक्रिय रुपमा लागिरहेको उनले उक्त सूचनामा उल्लेख गरेका छन।  

‘गाडी नआउँदासम्म कृपया धैर्यतापूर्वक पर्खनुहुन अनुरोध छ। धेरै दिनदेखि संकलन नभएकोले सुरुका केहीदिन चाप हुन सक्छ। कृपया सार्वजनिक बाटो तथा खुला स्थानमा फोहर विसर्जन नगर्नुहोस,’ सूचनामा भनिएको छ, ‘अहिलेसम्म थुप्रिएको फोहोर आगामि शनिबारसम्म उठाइनेछ। आइतबारपछि जथाभावी सार्वजनिक स्थानमा फोहोर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्नेछ।’

 जथाभावि फोहोर फालेमा सिसी क्यामेराबाट पहिचान भएको अवस्थामा न्यूनतम पाँचहजार रुपैयाँदेखि अधिकतम एकलाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने पनि मेयरको सूचनामा उल्लेख गरिएको छ। जरिवाना तिर्ने व्यक्तिको नाम राष्ट्रिय पत्रिका तथा महानगरको पेज र वेबसाइटमा समेत प्रकाशन गरिने समेत उल्लेख छ।  फोहर संकलन गाडीको रुट र समयतालिका पुनः प्रकाशन गरिने सुचनामा जनाइएको छ।’ उक्त सूचनासँगै आचार्यले फोहोर पुर्नका लागि खाडल खन्दै गरेको तस्बिर पनि सार्वजनिक गरेका छन।

प्रकाशित: २९ माघ २०८२ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App