१ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

विपद्‍पछि आत्मविश्‍वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत

तस्बिर: सुवास थापा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्‍चालन गरेको ‘नेपाल कलिङ’ अभियानले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा र वरिष्ठ अधिकृत प्रेमप्रसाद भट्टराईले बंगलादेशबाट आएको १८५ जनाको कर्पोरेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र ढाका टोपीसहित स्वागत गरेका छन्।  

चीनको तिब्बतस्थित गिरोङ काउन्टी हुँदै १० भदौमा भोटेकोशी र त्रिशुलीमा आएको बाढीपछि नेपालको पर्यटनबारे विभिन्‍न चर्चाहरू सुरु भएका थिए। यद्पि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन सम्बद्ध संस्थाहरूले विभिन्‍न माध्यमबाट नेपालका रसुवा, गोरखा र नुवाकोटका केही क्षेत्रबाहेक अन्य पर्यटकीय गन्तव्यहरू सुरक्षित रहेको सन्देश दिएका थिए।  

‘नेपाल कलिङ अभियान’ अभियानपछि बंगलादेशको प्रतिष्ठित कर्पोरेट कम्पनी वाल्टन प्लाजाका १८५ जना प्रतिनिधि नेपाल भ्रमणका लागि आएका हुन्। ‍थप ३० जना १८ सेप्टेम्बरमा काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ।  

नेपालमा हालै आएको बाढीका कारण अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको पर्यटन सुरक्षाबारे केही नकारात्मक धारणा देखिएको अवस्थामा यति ठूलो कर्पोरेट टोलीको आगमनलाई नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक सन्देशका रूपमा हेरिएको बोर्डका प्रवक्तासमेत रहेका निमित्त निर्देशक शर्माले बताएका छन्।  

बंगलादेशका पाहुनाहरूले नेपाल पर्यटन बोर्डको स्वागतप्रति खुसी व्यक्त गर्दै नेपाल सुरक्षित, पर्यटकका लागि खुला र आतिथ्यका लागि तयार रहेको प्रतिक्रिया दिँदै अन्य पर्यटकहरूलाई पनि मेपाल भ्रमणजा लागि आह्वान गरेका छन्।  

वाल्टन प्लाजाको यस भ्रमणले नेपाल र बंगलादेशबीचको पर्यटन तथा कर्पोरेट सम्बन्धलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ। पछिल्लो प्राकृतिक विपद्पछि पनि विदेशी पर्यटक तथा कर्पोरेट समूहले नेपाललाई आफ्नो भ्रमण गन्तव्यका रूपमा रोज्नुले नै नेपाल सुरक्षित गन्तव्य रहेको अन्तर्राष्ट्रिय विश्‍वासमा कुनै कमी नआएको स्पष्ट पारेको छ।

यस्तै श्रीलंकाको आईटा एजेन्ट्स एसोसियसन अफ श्रीलंका र ट्राभल एजेन्ट्स एसोसियसन अफ श्रीलंका गरी दुई वटा संस्थाहरूबाट १३३ जनाको टोली बिहीबार दिउँसो नेपाल ल्याण्ड गर्ने भएका छन्। उनीहरू आ-आफ्नो संस्थाको वार्षिक साधरण सभाका लागि नेपाललाई रोजेका हुन्। उनीहरू १७ सेप्टेम्बरदेखि २० सेप्टेम्बरसम्म काठमाडौंसहित नेपालका विभिन्‍न गन्तव्यहरूको भ्रमण गर्नेछन्।

त्यसैगरी भारतसहित सार्क मुलुकका विभिन्‍न संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले नेपालका विभिन्‍न पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्दै नेपाल सुरक्षित रहेको सन्देशसहितको तस्बिरहरू सार्वजनिक गरेका छन्।

प्रकाशित: १ आश्विन २०८३ ०८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App