२४ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

ट्रमा सेन्टर सार्ने निर्णयविरुद्ध ढल्केबरमा मशाल जुलुस, सोमबार पूर्व–पश्चिम राजमार्ग बन्दको घोषणा

ढल्केबरमा स्थापना गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासीले ढल्केबर बजारमा मशाल जुलुस प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको राजीनामा माग्दै सोमबार पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने घोषणा गरेका हुन्।

‘ट्रमा सेन्टर संरक्षण संघर्ष समिति’ को आह्वानमा निकालिएको मशाल जुलुसमा स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो सहभागिता रहेको थियो।

ढल्केबर बजार परिक्रमा गरेको जुलुसमा सहभागीहरूले ट्रमा सेन्टर ढल्केबरमै कायम गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए।

स्थानीयको आवश्यकता र लामो समयदेखिको पहललाई बेवास्ता गर्दै मन्त्रालयले ट्रमा सेन्टर सार्ने निर्णय गरेको भन्दै आन्दोलनकारीहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले सो निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको राजीनामा समेत मागेका छन्।

संघर्ष समितिले आफ्ना मागहरूतर्फ सरकार गम्भीर नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएको छ। ट्रमा सेन्टर ढल्केबरमै कायम गराउन सरकारमाथि दबाब दिने उद्देश्यले सोमबार पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प पार्ने घोषणा गरिएको छ।

प्रकाशित: २४ श्रावण २०८३ २०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App