जुम्लाको गुठिचौर गाउँपालिका-१ गडिगाउँमा आइतबार बिहान भएको भीषण आगलागीमा परी ४७ वर्षीया ढेसेनी ऐडीको घर र पसल पूर्ण रूपमा जलेर खरानी भएको छ।
तीन वर्षअघि श्रीमान् गुमाएकी र अपांगताका कारण एक्लै बस्दै आएकी ढेसेनीको बस्ने छानोसहित जीवन धान्ने अन्तिम आधार समेत आगोले खोसेपछि उनी घरबारविहीन बनेकी छन्।
बिहान करिब ३ बजे अचानक सल्किएको आगोले उनको दुईतले, जस्तापाताले छाएको छकोठे कच्ची घर पूर्ण रूपमा नष्ट गरेको छ। आगलागीबाट घरभित्र रहेको करिब ६ लाख रुपैयाँ बराबरको खुद्रा पसल, २ लाख रुपैयाँ नगद, २ लाख रुपैयाँ बराबरका सुनका गहना, भाँडाकुँडा र सञ्चित अन्नपात जलेर नष्ट भएको छ।
स्थानीयका अनुसार आगलागीबाट झन्डै ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगोले सोही गाउँका जयबहादुर ऐडीको घरमा पनि आंशिक क्षति पुर्याएको छ।
नजिकैको प्रहरी चौकी मणिसाँघु र स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार आगलागीको मुख्य कारण अझै खुल्न सकेको छैन र यसबारे अनुसन्धान भइरहेको छ।
छोराछोरीविहीन र अपाङ्गता भएकी ढेसेनीको सम्पूर्ण जायजेथा नष्ट भएपछि गाउँपालिकाले राहत वितरण गरेको छ। गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शान्तिकुमारी मल्ल (भण्डारी) र जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीको समन्वयमा उनलाई दाल, चामल, त्रिपाल, भाँडाकुँडालगायत १ लाख रुपैयाँ बराबरको आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको छ।
प्रकाशित: २४ श्रावण २०८३ २०:५४ आइतबार





