२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

फाइल तस्वीर

नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।

बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो। चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउन गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गरेका थिए।

भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमान सम्बन्धी सूचना आदानप्रदान लगायत विषयमा परराष्ट्रमन्त्री डा. राणाको ध्यानाकर्षण गराएका थिए।

उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो। चीनमा फसेकालाई रसुवामा पुल नबनेकाले तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो।

तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए।

प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको बताए। बाढीका कारण अवरुद्ध भएको स्याफ्रुबेंसी-रसुवागढी सडक खण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएकाले तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उनले बताए।

- रासस

प्रकाशित: ७ श्रावण २०८२ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App