उदयपुरगढी गाउँपालिकाबाट अवैध रूपमा नदीजन्य पदार्थ निकालेर लैजाँदै गरेका टिप्पर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। अघिल्लो दिन उदयपुरगढी गाउँपालिका–६ नेपालटारस्थित बैजनाथ खोलाबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरी अन्यत्र लैजाँदै गरेको अवस्थामा भेटेपछि गाउँलेले तीन वटा टिप्पर नियन्त्रणमा लिएका हुन्।
नेपालटार प्रहरी चौकीको सहयोगमा चेकजाँच गर्दा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेर लैजाने गरेको फेला परेपछि नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्। ढुंगा, गिटी, बालुवा बोकेका टिप्परहरू गाउँपालिका मुकाम उदयपुरगढीतर्फ लैजाँदै गर्दा नेपालटार–गढी सडकखण्डको तेलतेले क्षेत्रमा फेला पारेर नियन्त्रणमा लिइएको हो।
सडकमै नियन्त्रणमा परेका बा ४ ख ५६७२, बागमती प्रदेश ०३–००१ बा ०१९४ र बा ४ ख ५६७० नम्बरका तीन वटा टिप्पर अहिले पनि सडकमै रोकिएका छन्। प्रहरी चौकी नेपालटारका अनुसार ती सवारी साधन हालसम्म नियन्त्रणमै रहेका छन्।
चौकी प्रमुख प्रहरी सहायक निरीक्षक शिव श्रेष्ठका अनुसार चेकजाँचका क्रममा कानुनी आधार पुष्टि हुन नसकेपछि नियन्त्रणमा लिएर गाउँपालिकालाई जानकारी गराइसकिएको छ।
असई श्रेष्ठले नदीजन्य पदार्थ गाउँपालिकाले लगाएको ठेक्काअन्तर्गतकै भए पनि सम्बन्धित रसिद काटिएको नदेखिएकाले गैरकानुनी ठहर गर्दै नियन्त्रणमा लिनु परेको बताए। गाउँलेहरूको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर चेकजाँच गर्दा रसिद नपाइएकाले टिप्पर नियन्त्रणमा लिएर गाउँपालिकालाई जानकारी गराइएको उनले बताए।
प्रकाशित: १० असार २०८३ १२:२८ बुधबार


-600x400.jpg)


