उदयपुर । गएराति उदयपुरको कटारी बजार नजिकै टिपरमा आगलागी भएको छ । शनिबार राति ११: ४५ बजेको समयमा सिद्धिचरन लोकमार्ग अन्तर्गत कटारी नगरपालिका-१ चुरीयामा अचानक आगलागी हुँदा ना ८ ख ५९४१ नम्बरको टिपरमा क्षति पुगेको छ ।
ईलाका प्रहरी कार्यालय कटारीका अनुसार सिन्धुलीको दुधौलीबाट गिटी बोकेर सिरहाको मिर्चैयातर्फ जाँदै गरेको टिपरमा वायरिङ सट भई आगो लागेको हो । तार सट भएर अगाडि भागको क्याबिनमा अचानक आगलागी हुँदा जलेर ध्वस्त भई १९ लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगो प्रहरी र दमकलको सहयोगमा मध्यराति १२:५० बजे पुर्ण रुपमा नियन्त्रणमा ल्याइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ८ भाद्र २०८२ १४:५७ आइतबार





