२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नर्सरी व्यवसाय प्रवर्द्धन गर्न तिहार फ्लोरा एक्स्पो

नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो-२०८२ आयोजना गर्ने भएको छ ।  

तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धनको उद्देश्यले यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म एक्सपो आयोजना गर्न लागिएको सङ्घले जनाएको छ ।

सङ्घका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले गत वर्षको तुलनामा यस वर्ष अझ व्यापक सहभागिता बढाउने किसिमले प्रचारप्रसार भइरहेको बताइन । उनका अनुसार नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनसहित स्वच्छ वातावरणीय आम्दानी तथा रोजगारी सिर्जनालाई यस एक्स्पोको प्रमुख उद्देश्य बनाइएको छ ।  

‘वनस्पति र बोटबिरुवाको संरक्षण, पुनःरोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीचको सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ’, संयोजक महर्जनले भनिन् ।  

उनले नर्सरी व्यापारिक गतिविधि नभई मानव सभ्यताको संरक्षणसँग पनि सम्बन्धित विषय भएको बताइन । ‘वनजङ्गल र जैविक विविधता जोगाउन, हरियाली बढाउन र जलवायु सन्तुलनमा योगदान पुर्‍याउन नर्सरी व्यवसायीको योगदान छ,' उनले भनिन् ।  

सङ्घले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी व्यवस्था र अन्तरराष्ट्रिय व्यापार मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने सघले बताएको छ ।  

सङ्घले हालको राजनीतिक अनिश्चितता र अस्थिरताले व्यवसायी समुदायमा मनोबल कमजोर बनाएको भए पनि यस्तो परिस्थितिमा सबैपक्षले व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।  

 

प्रकाशित: २६ आश्विन २०८२ १७:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App