बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ। बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताएका हुन्।
बाघप्रति आम नागरिकले सकारात्मक धारणा बनाए मात्रै बाघको संरक्षण हुने र बाघ भएको ठाउँ सुन्दर जङ्गल भएको हुँदा बाघ मार्ने र बाघसँगको दुस्मनी कसैले पनि गर्न नहुने उनको भनाइ थियो।
उनले भने, “रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकीन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ। लोपन्मुख अवस्थामा रहेको पाटेबाघ छ। लमाहा नदीको माथिदेखि तल्लो क्षेत्रमा, धन्सारको वन क्षेत्रमा, हातेमालो सामुदायिक वन उपभोक्ता समुह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र, फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ।”
बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गालगायत जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले बताए।
नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि बाघको सङ्ख्या यकीन हुने बताएका छन्।
उनले पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने बताए।
साहले बाघ संरक्षणको महत्त्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे जानकारी दिएका थिए।
विसं २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। चन्द्रपुर नगरपालिका नगरपालिका– ६ का २७ वर्षीय सङ्गम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।
भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो। भण्डारीलाई खोज्न गएको दुई युवकलाई पनि सोही समयमा आक्रमण गरी घाइते बनाएको थियो।
यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए। बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्गछेउमै बाघले आक्रमण गरेको थियो।
त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो।
गुजरा–१ राईटोलमा आफ्नै घर नजिक रहेको आलुबारीमा पानी लगाउन गएकाे बेला बौराहीमाथि बाघले आक्रमण गरेको देखेर बचाउन गएका गुजरा–१ का वडाध्यक्ष रामजीतलाई झम्टिएर घाइते बनाएको थियो।
प्रकाशित: ११ जेष्ठ २०८३ ०६:१० सोमबार





