लमजुङको बेसिशहरमा पत्रकार र एक सहकारी संस्थाको भवनमा रातिको समयमा ढुंगा प्रहार गरी सिसा फुटाएको आरोपमा प्रहरीले तीन जना युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बिहीबार राति प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको बेसिशहर नगरपालिका–८ स्थित घर र सोही वडाको झ्याङखोलामा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनमा ढुंगा प्रहार भएको थियो।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी अभिषेक पाण्डेका अनुसार शुक्रबार बिहान घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी टोली परिचालन गरी अनुसन्धान थालिएको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आरोपमा तीन जना १८ वर्षीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बेसिशहर–८, मालपोतचोकका आयुष आलेमगर, दोर्दी घर भई हाल बेसिशहर–८ मा बस्दै आएका प्रदिप तामाङ र बेसिशहर–१० का योगेश तामाङ रहेका छन्।
पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
प्रकाशित: १४ कार्तिक २०८२ १९:४० शुक्रबार





