कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत नीरजविक्रम शाह, उनकी श्रीमती शुभेक्षा श्रेष्ठ तथा कर्णाली विकास बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्।
उनीहरूलाई नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
यस प्रकरणमा संलग्न रहेका अन्य केही प्रतिवादी फरार रहेका छन् भने केही व्यक्तिहरू यसअघि नै प्रहरी हिरासतमा रहेको स्रोतले जनाएको छ।
कर्णाली विकास बैंक केही महिनायता वित्तीय अनियमितता, जोखिमपूर्ण कर्जा प्रवाह, नक्कली धितोका आधारमा कर्जा वितरण तथा बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर बनाइएको आरोपका कारण विवादमा तानिएको थियो।
बैंकको वित्तीय अवस्था बिग्रँदै गएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले समेत विशेष निगरानी बढाएको थियो।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार बैंकबाट ठूलो रकम अनियमित रूपमा कर्जा प्रवाह गरिएको, केही कर्जामा धितोको मूल्याङ्कन र कागजातमा गम्भीर त्रुटि रहेको तथा आन्तरिक प्रक्रिया विपरीत निर्णय गरिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो।
सोही अनुसन्धानका क्रममा तत्कालीन व्यवस्थापन तहमा रहेका व्यक्तिहरूमाथि जिम्मेवारी निर्धारण गर्ने प्रक्रिया सुरु भएको बताइएको छ।
प्रहरीले पक्राउ परेका शाह, श्रेष्ठ र थापामाथि बैंकिङ कसुर तथा आर्थिक अनियमिततासम्बन्धी कानुनी प्रावधानअन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ।
अनुसन्धानका क्रममा थप व्यक्ति पक्राउ पर्न सक्ने र आर्थिक कारोबारसँग सम्बन्धित कागजात तथा बैंकिङ रेकर्डको विस्तृत परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित: २२ श्रावण २०८३ १२:४१ शुक्रबार





