५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

मनाङमा लेक लागेर दुई दिनमा तीन जनाको मृत्यु

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर दुई दिनको अन्तरालमा तीन जनाले ज्यान गुमाएका छन्। उच्च हिमाली क्षेत्रमा पर्यटकको भारी बोक्न र पथप्रदर्शकको रूपमा गएका उनीहरूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतका अनुसार पछिल्लो पटक तनहुँका ४४ वर्षीय रामबहादुर थापाको मृत्यु भएको छ।

पथप्रदर्शक (गाइड) को काम गर्ने थापा नार्पाभूमि गाउँपालिका–५ स्थित फु गाउँबाट लेक लागेर फर्कने क्रममा शनिबार राति नार्पाभूमि–२, मेटामा रहेको केरेला होटलमा बास बसेका थिए। उनको सोही होटलमा मृत्यु भएको हो। आइतबार बिहान उनको शवलाई हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ।

यसैगरी, शनिबार नुवाकोटको किस्पाङ गाउँपालिका–१ का ४९ वर्षीय साम्बा घलेको पनि लेक लागेर मृत्यु भएको थियो।

पर्यटकको भरियाका रूपमा गएका उनको उद्धारका लागि हेलिकप्टर पठाउने प्रयास गरिए पनि खराब मौसमका कारण सम्भव हुन सकेको थिएन, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको शवलाई पनि आइतबार बिहान एभरेस्ट हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ। घटनास्थल प्रहरी चौकीबाट करिब १२ घण्टाको पैदल दूरीमा पर्ने विकट स्थानमा रहेको थियो।

यसअघि, शनिबार नै लम्जुङको क्व्होलासोथार गाउँपालिका–४ निवासी ४८ वर्षीय डिलबहादुर गुरुङको पनि लेक लागेर मृत्यु भएको थियो। नार्पाभूमि–४ स्थित याकखर्कमा बिरामी परेका उनलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखराको मणिपाल अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै मनाङका उच्च हिमाली क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक, भरिया र पथप्रदर्शकहरूको चहलपहल बढेको छ। यही क्रममा उच्च भागमा जाँदा लेक लाग्ने समस्याले ज्यानै जाने घटनाहरू बढेका हुन्।

प्रकाशित: ९ कार्तिक २०८२ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App