बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० बस्ने अन्दाजी ३५/४० वर्षीया राजमति महरा, अन्दाजी १५/१६ वर्षीया तारा महरा र अन्दाजी ५/६ वर्षीया डल्ली महरा रहेका छन्।
सोमबार बिहान अन्दाजी १०ः२० बजेको समयमा टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो। अटोमा चालकसहित ४र५ जना सवार रहेको बुझिएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमाण्डमा ४ जनाको टोली खटिएको थियो।
अटो तथा अन्य सवार व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
प्रकाशित: ३० कार्तिक २०८३ १३:३४ सोमबार





-600x400.jpg)