तीन लिम्बूवानी घटकले अरुण पूर्वका ९ जिल्लामा यही साउन २२ गते आम हडतालको घोषणा गरेका छन्।
तत्कालीन गोर्खा राज्य र लिम्बूवानबीच भएको ऐतिहासिक नुनपानी सन्धि कार्यान्वयन गरी लिम्बूवान राज्य सुनिश्चित गर्न माग गर्दै उनीहरूले ताप्लेजुङको फुङलिङमा संयुक्त पत्रकार सम्मेलनमार्फत हडतालको आह्वान गरेका हुन्।
लिम्बूवान क्रान्तिकारी पार्टीका अध्यक्ष मनिष हेल्लोक, सङ्घीय लिम्बूवान पार्टीका अध्यक्ष मित्र लिङ्देन र लिम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङ्वा याक्थुङद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा आम हडतालको घोषणा गरिएको हो।
विक्रम सम्वत १८३१ साल साउन २२ गते गोर्खा राज्य र लिम्बूवानबिच भएको ‘तसली लालमोहर' (नुनपानी सन्धि) को ऐतिहासिक दिनको सम्झनामा र उक्त सन्धिको कार्यान्वयनका लागि दबाब दिन हडताल आयोजना गरिएको उनीहरूले बताएका छन्।
विज्ञप्तिमा अरुण पूर्वका ९ जिल्लाहरू- ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङलाई समेटेर लिम्बूवान राज्य सुनिश्चित गर्नुपर्ने माग पुनः दोहोर्याइएको छ।
प्रकाशित: २० श्रावण २०८२ १५:४७ मंगलबार





