राजधानीको भोटेबहाल र कीर्तिपुरमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
शुक्रबार राति काठमाडौं महानगरपालिका-११ भोटेबहाल सडकखण्डमा बसको ठक्करबाट दुई जना भारतीय नागरिकको मृत्यु भएको छ।
कालीमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्र.०३-०१-००५ ख ९२९८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट भारत उत्तर प्रदेश घर भई टेकु बस्ने ३८ वर्षीय शतिस कुमार कुस्वाहा र भारत आसामका ४५ वर्षीय पदम उपाध्यायको ज्यान गएको हो।
गम्भीर घाइते भएका उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनालगत्तै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी, शुक्रबार बेलुकी कीर्तिपुर नगरपालिका-१० स्मृति भवन नजिकै दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ।
बा.९९ प ३०९६ र बा.५३ प ४४१४ नम्बरका मोटरसाइकल जुध्दा बा.९९ प ३०९६ नम्बरका चालक २७ वर्षीय प्रकाश अवस्थीको ज्यान गएको हो।
स्याङ्जा घर भई कीर्तिपुर-८ पाँगा बस्दै आएका अवस्थीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते भएका बा.५३ प ४४१४ नम्बरका चालकको कीर्तिपुर अस्पतालमा र बा.९९ प ३०९६ को मोटरसाइकलमा पछाडि सवार अर्का एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: ७ चैत्र २०८२ १६:०६ शनिबार




-600x400.jpg)
