२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

जेनजी प्रदर्शनमा लुटिएको तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३०० क्वीन्टल चामल र चिनी फिर्ता भएको छ।

लहान नगरपालिका–१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो। कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल ४३ किलो चामल र सात क्वीन्टल ८४ किलो चिनी फिर्ता भएको छ।

खाद्य कम्पनी लहान शाखाका प्रमुख दीपक सुनारले फिर्ता गरिएका खाद्यान्न इलाका प्रशासन कार्यालय, इलाका प्रहरी तथा स्थानीय युवाको सहयोगमा सङ्कलन गरिएको जानकारी दिए। त्यसैगरी स्टिल दराज छ थान, सोफा दुई थान, काठको खाट एक थान, कुर्सी दुई थान, घुम्ने कुर्सी एक थान र त्रिपाल एक थान सामग्री पनि फिर्ता भएको उनले जानकारी दिए।

चार वटा गोदामबाट लुटिएको सम्पूर्ण सामग्रीमध्ये आठ हजार १४८ क्वीन्टल चामल, तीन हजार २२० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८१५ थान जुटका बोरा रहेका थिए, जसको अनुमानित मूल्य करिब १० करोड ९१ लाख रुपैयाँभन्दा बढी रहेको प्रमुख सुनारले बताए। रासस

प्रकाशित: ६ आश्विन २०८२ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App