१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२-१७९)औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले एक कार्यक्रमबीच दीक्षित गरेका हुन् ।  

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरी सङ्गठनको गरिमा बढाउँदै कर्तव्य निष्ठ भएर काम गर्न निर्देशन दिए । उनले भने, ‘सङ्गठनको गरिमालाई जोगाउँदै तालिममा सिकेका विषयलाई पालन गरी कर्तव्यमा लाग्न निर्देशन गर्दछु ।’ जनतासँग प्रत्यक्ष काम गर्नुपर्ने भएकाले सङ्गठनप्रति इमान्दार हुँदै काम गर्नुपर्ने उनले बताए ।  

प्रहरीको उपस्थिति र इमानदारिताले मात्र पनि आमनागरिकले सुरक्षाको प्रत्याभूति गर्ने भन्दै प्रहरी महानिरीक्षक खापुङ्गले प्रहरीको उपस्थितिलाई निश्चित समयको बसाइभन्दा पनि एक अवसरका रूपमा लिन आग्रह गरे । प्रहरीको कर्म र धर्म नै नागरिकको सेवा हो भन्दै उनले देशका दुई हजार ६६० वटा युनिटमार्फत अभिछिन्न सेवा दिँदै आएको प्रहरी समाजका हरेक घटनाको पहिलो जवाफदेही भएकाले सोहीअनुसार काम गर्न उनले आग्रहसमेत गरे ।  

दीक्षान्त समारोहमा दीक्षित भएका विसं २०८१ मङ्सिर ७ गतेदेखि तालिममा सहभागी भएका थिए । ५३ जना महिलासहित ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका हुन् ।  

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले आ–आफ्नो धारणा राखेका थिए । दीक्षान्त समारोहमा दीक्षित भएका परिवारका सदस्यको उपस्थिति थियो ।

प्रकाशित: २ कार्तिक २०८२ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App