नेपाल राष्ट्रलाई ऋणमुक्त बनाई समृद्धितर्फ अघि बढाउने संकल्पसहित नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको तीनदिने महालक्ष्मी विशेष साधना मंगलबार सम्पन्न भएको छ।
महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा आयोजित तीनदिने महारुद्राभिषेकअन्तर्गत महालक्ष्मी विशेष साधना गरिएको हो।
महायज्ञ समापनका अवसरमा फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले यस वर्षदेखि प्रत्येक वर्ष महालक्ष्मी विशेष साधना आयोजना गरी धार्मिक तथा आध्यात्मिक क्षेत्रबाट देशलाई ऋणमुक्त बनाउन योगदान गरिने बताए। वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न राष्ट्र आर्थिक रूपमा समृद्ध र ऋणमुक्त हुनुपर्ने उनको भनाइ थियो।
उनले निर्धारित लक्ष्य हासिल नभएसम्म साधनालाई निरन्तरता दिने बताए।
तीनदिने महारुद्राभिषेकमा श्रीसूक्त पाठ तथा जपलगायत वैदिक विधिअनुसारका अनुष्ठान गरिएको थियो। यज्ञका कर्ता डिल्लीराम अधिकारीका अनुसार अनुष्ठानमा ५७ जना पण्डितले रुद्री पाठ, १३ जनाले चण्डी पाठ, १५ जनाले हवन, तीन जनाले नवग्रह पाठ र एक जनाले वेद पाठ गरेका थिए।
महर्षि महेश योगीले विसं २०३१ कात्तिक ८ देखि २३ गतेसम्म नेपाल भ्रमणका क्रममा वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्ने विचार व्यक्त गरेका थिए। उनको नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा उक्त यज्ञ आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।
महर्षि महेश योगीको नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा विसं २०८१ देखि सुरु गरिएको यज्ञलाई गत वर्ष र यस वर्ष पनि निरन्तरता दिइएको हो। आगामी वर्ष पनि महालक्ष्मी विशेष साधना आयोजना गरिने फाउन्डेसनले जनाएको छ। रासस
प्रकाशित: २ मंसिर २०८३ ०६:२६ बुधबार





