जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार सार्वजनिक गरेको मनसुन आँकलनअनुसार गत वर्षहरूको तुलनामा यस वर्ष धेरै स्थानमा कम पानी पर्ने सम्भावना देखिएको हो ।
विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष देशभर अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने सम्भावना छ । महाशाखाले गर्मी बढ्ने संकेत देखिएको जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा कोशी प्रदेशका उत्तरी क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका मध्य भू–भागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित: २५ वैशाख २०८३ १४:५२ शुक्रबार



-600x400.jpg)

