२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी वर्षा भएको छ : मौसमविद् महर्जन

फाइल तस्बिर

लामो खडेरीले प्रभावित तराईका किसानले आज राहत महसुस गरेका छन्। विशेषगरी पूर्वी तराईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि पश्चिम तराईमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसमविद् विनु महर्जनले भनिन्, ‘यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी वर्षा भएको छ, तर पूर्वी तराईबाट पश्चिम सर्दा मनसुन कमजोर हुँदा वर्षा कम भएको छ।’

आज मनसुनको न्यून चापीय रेखा तराई नजिक रहेकाले वर्षा भएको छ। देशभर मौसम बदली रहेको र खण्डित वर्षा भएको छ। काठमाडौँमा पनि खण्डित वर्षा भएको छ। चन्द्रागिरिमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्र सामान्य थियो, नक्सालमा वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेन। अन्य जिल्लामा पनि यस्तै खण्डित वर्षा भएको छ।

मौसमविद् महर्जनले आज दिउँसो विभिन्न प्रदेशमा भारी वर्षा भएको र कोशी र मधेस प्रदेशमा वर्षा जारी रहेको बताइन्। पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर वर्षा भएको छ। दमकमा १२१, चन्द्रगढीमा १२७, उदयपुरको गाईघाटमा १३४.३ र बाँकेमा १०७ मिलिमिटर वर्षा भएको छ। १६ भन्दा बढी स्टेशनमा ८० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

मधेस प्रदेशमा पनि राम्रो वर्षा भएको छ। सप्तरीको बरमजियामा ९३.६, सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरी गौशालामा ५७.८, लहानमा ७२.८, रौतहट गौरमा ६५.८ र बारामा ४३ मिलिमिटर वर्षा भएको छ। पर्सा र सर्लाहीमा मध्यम वर्षा भएको छ। धेरै मापन केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

बाग्लुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, सङ्खुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही क्षेत्रमा पनि भारी वर्षा भएको छ। हल्कादेखि मध्यम वर्षा देशका अधिकांश क्षेत्रमा भएको छ।

विभागले आगामी २४ घण्टामा देशभर बदली रहने, धेरै स्थानमा मध्यम वर्षा हुने र कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आगामी केही दिन मनसुन सक्रिय रहने र सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। रासस

प्रकाशित: १८ श्रावण २०८२ २१:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App