रौतहटका दुई पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यालयको आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ। रौतहटको वृन्दावन र गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत (प्रप्रअ) नहुँदा स्थानीयलाई निकै समस्या भएको छ।
गत करिब छ महिनादेखि वृन्दावन नपाका कर्मचारीहरूले तलब भत्ता समेत खान पाएका छैनन्। प्रप्रअ नहुँदा पालिकाको विकास तथा योजनासमेत प्रभावित हुने अवस्था सिर्जना भइसकेको छ।
यसै गरी प्रप्रअको अभावमा गुजरा नपाको आर्थिक, प्रशासनिक कामका साथै विकास निर्माणका कामहरू ठप्प भएको जनप्रतिनिधिहरूको गुनासो रहेको छ। सम्बन्धित निकायले समयमा ध्यान नदिँदा नगरपालिकामा निकै धेरै समस्या भएको देखिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौमा वृन्दावन नगरपालिकाका प्रप्रअ खिमलाल भुजेलको सरुवा गरेको थियो। भुजलको ठाउँमा अर्को प्रप्रअ नपठाउँदा नगरपालिकाको कामकाज अस्तव्यस्त भएको छ।
वृन्दावनमा मन्त्रालयले प्रप्रअको रूपमा जयकान्त झाको सरुवा गरेको थियो तर उनी हाजिर हुन आएनन्। वृन्दावनमा कामकाज गर्न सक्ने वातावरण नभएको भन्दै झा हाजिर हुन नआएपछि वृन्दावन नपा गत भदौदेखि नै प्रप्रअविहीन रहेको छ।
यसै गरी गुजरा नपाकी तत्कालीन प्रप्रअ शान्ता विश्वकर्मा गत पुस २८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बागमती प्रदेशमा सरुवा गरिएको थियो। उनको ठाउँमा कोही नआएकाले गुजरा प्रप्रअविहीन रहेको छ। प्रप्रअको अभावमा योजना कार्यान्वयन, आर्थिक कारोबार, कर्मचारी व्यवस्थापन लगायतका महत्त्वपूर्ण काम ठप्पजस्तै भएको जनप्रतिनिधिहरूको गुनासो रहेको छ। कार्यालयको महत्त्वपूर्ण निर्णय पनि कार्यालय प्रमुखको अभावमा हुन नसकेको बताइएको छ।
वृन्दावनमा ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिकाले सामाजिक सुरक्षा भत्ता र बाल पोषणको रकम पाउनबाट पनि स्थानीय वञ्चित भएका छन्। समयमा तलब पाउन नसक्दा कर्मचारीको मनोबल पनि गिर्न लागेको अनुभव वृन्दावनका जनप्रतिनिधिहरूको रहेको छ। नजिकिँदै गरेको होलीको अवसरमा पनि वृन्दावन तथा गुजराका कर्मचारी र लाभग्राहीहरूले तलब भत्ता पाउने सम्भावना कम हुँदै गएको छ। निर्वाचनको आचार संहिता लागु रहेकोले प्रप्रअको अभावमा दुई पालिकाको समस्या अझै केही समय लम्बिने देखिएको छ।
प्रकाशित: २१ माघ २०८२ १३:२१ बुधबार





