पछिल्लो समय उदयपुरमा लागूऔषध कारोबार र प्रयोग गर्ने महिलाहरू बढ्दै गएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले विगत तीन वर्षयता बर्सेनि लागूऔषध आरोपमा महिला संलग्नता वृद्धि हुँदै गएको देखाएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार पछिल्लो आर्थिक वर्ष ०८१/०८२ मा लागूऔषध प्रयोग र कारोबारमा महिला संलग्नता विगत वर्षहरूभन्दा दोब्बर बढ्दै गएको विवरण छ। गएको साउनदेखि असार मसान्तसम्म लागूऔषध आरोपमा पुरुष संलग्नता १ सय ५१ हुँदा १२ जना महिला संलग्न भएको डिएसपी दोङले बताए।
यो वर्ष लागूऔषध आरोपमा १२ महिलासहित १ सय ६३ जना पक्राउ परेका थिए। जसमध्ये ८९ वटा मुद्दा दर्ता भएर कानुनी कारबाही अघि बढाइएको पनि डिएसपी दोङले बताएका छन्।
आर्थिक वर्ष ०८०/०८१ भने लागूऔषध आरोपमा ६ जना महिला पक्राउ पर्दा १ सय ३६ पुरुषसमेत गर्दा १ सय ४२ जना पक्राउ परेका थिए। सो वर्ष पनि लागूऔषधसम्बन्धी ८९ वटा मुद्दा दर्ता भएको थियो।
प्रहरी कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष ०७९/०८० मा ३ जना मात्र महिला लागूऔषध आरोपमा पक्राउ परेका थिए। सो वर्ष ९६ जना पुरुषसहित ९९ जना लागूऔषध आरोपमा पक्राउ परेको र ६३ वटा मुद्दा दर्ता भएको अभिलेखमा उल्लेख छ।
विगत तीन वर्षको अभिलेखले लागूऔषध प्रयोग तथा कारोबारमा संलग्न हुने महिलाहरूको संख्या वृद्धि हुँदै गएको छ।तीन वर्षअघि तीन जना पक्राउ परेका महिला संख्या दुई वर्षअघि ६ जना हुँदै पछिल्लो आर्थिक वर्ष १२ जना पुग्नुले बर्सेनि दोहोरो गुणाले वृद्धि हुँदै गएको अभिलेखले देखाएको छ।
प्रहरी अभिलेख अनुसार ०८१/०८२ मा लागूऔषधको प्रकारमा गोटी र गाँजा बरामद संख्या बढेको छ भने एम्पुल र ब्राउन सुगरको परिमाण घटेको छ। पछिल्लो वर्ष गोटी २ लाख ९१ हजार १ सय ७४ थान बरामद भएको छ। एम्पुल १ हजार ३ सय ४३ थान र ब्राउनसुगर १७ ग्राम १ सय १३ मिलिग्राम बरामद भएको छ। त्यसैगरी चरेश ६० ग्राम बरामद भएको अभिलेख छ।
अघिल्लो वर्ष ०८०/०८१ मा भने ब्राउनसुगर २ सय १३ ग्राम १ सय १२ मिलिग्राम बरामद भएको थियो। सो वर्ष एम्पुल २ हजार २ सय ९ थान र गोटी ७ सय ३७ थान बरामद भएको प्रहरी तथ्याङ्कले देखाएको छ। त्यसैगरी ७ सय ४० किलो गाँजा पनि सो वर्ष बरामद भएको अभिलेख प्रहरीसँग छ। सो वर्ष पोल्याण्ड नामक लागूऔषध १ सय २६ ग्राम, डिकोफ र अन्य प्रतिबन्धित औषधिहरू १३ हजार ६ सय ४९ चक्की र चरेस ४ किलो १ सय ९० ग्राम बरामद भएको थियो।
तीन वर्षअघि अर्थात आर्थिक वर्ष ०७९/०८० मा१ हजार ८ सय ४ एम्पुल, १ हजार ९ सय ४९ गोटी र १५ ग्राम ३ सय २२ मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो। सो वर्ष १ सय ५१ किलो ५ सय ७१ ग्राम गाँजा बरामद भएको प्रहरी अभिलेखमा उल्लेख छ।
प्रकाशित: ३ श्रावण २०८२ ११:३७ शनिबार





