घरसम्मै गाडी पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको दैनिकी फेरिएको छ । पहिले जस्तो पैदल हिँडेर बजार जानु पर्दैन । गाडीमा आउजाउ गर्न पाएपछि घरको काम गर्ने समयसमेत बचत भएको उनी बताउँछिन् ।
स्थानीय स्वास्थ्य संस्थामा कार्यरत गुरुङका अनुसार सडक सञ्जालले गाउँलेको जीवनमा परिवर्तन ल्याएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड आसपास बाहेक इच्छाकामनाका अधिकांश भूगोल पहाडी क्षेत्रमा पर्छ । यहाँ बहुसङ्ख्यक जनजाति बसोबास गर्छन्, जसमा ३७ प्रतिशत चेपाङ छन् । कुल जनसङ्ख्याको ७५ प्रतिशत जनजातिको बसोबास छ ।
इच्छाकामना–२ का अध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार गाउँगाउँमा सडक, विद्युत् र खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम घटेको छ । सडक सञ्जाल विस्तार भएसँगै यहाँ उत्पादित कृषिजन्य वस्तु सहजै बजारसम्म पुग्न थालेका छन् ।
घरमै मोटरसाइकल पुग्न थालेपछि बजारमा काम गर्नेहरू बिहान–बेलुका घरबाटै आवतजावत गर्न थालेका छन् । गाउँपालिकाको पहाडी भू–भाग हुँदै शक्तिखोर–फिस्लिङ सडक निर्माण भएको छ । इच्छाकामना गाउँपालिका–२, ३ र ७ वडा हुँदै जाने उक्त सडक ३५ किलोमिटर लामो छ । यही सडकमार्फत नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गसँग यहाँका भित्री सडक जोडिएका छन् ।
गाउँपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका आयोजनाबाट सडक र पुल निर्माण भएपछि गाउँलाई सहरसँग जोड्न सम्भव भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ बताउँछन् । इच्छाकामनामा मात्र तीन तहका सरकारबाट निर्माण भएका सडकको लम्बाइ ४०० किलोमिटरभन्दा बढी छ ।
उनका अनुसार सबै टोलमा सडक पुगेपछि स्थानीयको जीवनमा परिवर्तन आएको छ । गाउँपालिकाले विकास बजेटको ४० प्रतिशतभन्दा बढी सडक र पुलमा खर्च गर्ने गरेको छ । सडक विस्तारसँगै बसाइँ सर्ने क्रम पनि घटेको छ । यहाँबाट वार्षिक करिब नौ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने गरेको जानकारी दिइएको छ ।
गाउँपालिकाले तरकारी ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । सुन्तलाभन्दा बढी तरकारीबाट किसानले आम्दानी गर्न थालेका छन् । खसी, बोका र कुखुराबाट मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतका अनुसार सडक सञ्जालले इच्छाकामनाका सबै गाउँ छोएपछि पर्यटकीय क्षेत्रको विकासमा पनि टेवा पुगेको छ । धार्मिक महत्व बोकेका मठमन्दिर, महत्वपूर्ण किल्ला उपरदाङगढी र जिल्लाकै सबैभन्दा अग्लो भू–भाग सिराइचुलीमा सडक पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।
प्रकाशित: २५ चैत्र २०८२ २१:२३ बुधबार





