२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

जेनजी ‘भाइहरू’बाट अदालत जोगाउने ‘दिदी’को बढुवा

देशभर जेनजी आन्दोलनको ज्वाला दन्किरहेको थियो। सिंहदरबारदेखि लिएर राष्ट्रपति भवनसम्म धुवाँको मुस्लो उडिरहेको थियो। सरकारी कार्यालय, बैंक, प्रहरी चौकी, वडा कार्यालय सबैतिर आगो झोसिएको क्षण थियो त्यो। तर त्यही भीषण क्षणमा दाङ जिल्ला अदालतको मुख्य ढोकामा उभिएकी थिइन् प्रहरी हवलदार संगीता अधिकारी। उनले आफ्ना सहकर्मीसँग मिलेर जिल्ला अदालतलाई जल्नबाट बचाइन्।

‘ए भाइ! प्लिज क्या, अब भयो गइदिनोस्,’ उनले आक्रोशित भिडलाई दिदी बनेर सम्झाउँदै भनिन्, ‘यो हाम्रै ट्याक्सबाट बनेको चिज हो, यस्तो गर्नुहुँदैन।’ त्यो वाक्यले भिडको दिशा मोडियो। प्रहरी र जनताका बिचमा क्षणभरका लागि संवाद सम्भव भयो। संगीता अधिकारीले त्यस क्षणलाई प्रयोग गर्दै अदालतवरपरको भिडलाई संयमित बनाइन्। जल्नै लागेको अदालतलाई जोगाइन्। ‘भिडले अदालतको ढोकासम्म ढुंगा हान्न थालेको थियो,’ संगीता सम्झिन्छिन्, ‘हामीलाई पनि डर लागेको थियो। तर अदालतका कागजात र फाइलहरू सम्झियौं– यो हाम्रो न्याय प्रणालीको मेरुदण्ड हो, अदालत जल्यो भने दशकौंको विश्वास जलेर खरानी हुनेछ।’

बिहान १० बजे र दिउँसो १ बजे पनि अदालतअघि भिड आएको थियो। उनले उसैगरी सम्झाउँदै पठाइन्। त्यो आफ्नो जीवनको सबैभन्दा जटिल अवस्था रहेको उनले बताइन्। उनका लागि त्यो दिनको सबभन्दा कठिन निर्णय थियो– बल प्रयोग गर्ने वा सहनशील रहने। ‘हाम्रो जिम्मेवारी थियो, सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने,’ उनले भनिन्, ‘हामीले गोली चलायौं भने स्थिति थप भड्किन सक्थ्यो। त्यसैले हामी संयमित रहेर काम गर्‍यौं।’ २०६९ सालमा नेपाल प्रहरीमा प्रवेश गरेकी तीन सन्तानकी आमा संगीताले ‘भाइ’ भन्दै जब आन्दोलनकारीलाई सम्बोधन गरिन् र त्यो निकै प्रभावकारी बन्यो। त्यो संवाद, त्यो धैर्य र त्यो अनुशासनले अदालत जल्नबाट बच्यो। अन्ततः आन्दोलनकारीहरू अन्य सरकारी भवनतर्फ लागे र दाङ जिल्ला अदालत सुरक्षित रह्यो।

आन्दोलन शान्त भएपछि घटनाको समीक्षा सुरु भयो। धेरै ठाउँमा प्रहरी बलको आचरणमाथि प्रश्न उठाइयो तर दाङको घटना फरक उदाहरण बन्यो। दाङमा प्रहरी हवलदार संगीताको संयम, विवेक र कर्तव्यनिष्ठताले ठुलो जनधनको क्षति हुनबाट बचाएको क्षणलाई सबैले सराहना गरे। अदालतले उनलाई असोज २३ गते नगद पाँच हजार राशिसहित सम्मान गर्‍यो। न्यायाधीश र वकिलहरूको समूहले अदालत जोगाउन उनले निर्वाह गरेको भूमिकाको सम्मान गदै बढुवाका लागि सिफारिससमेत गर्‍यो। उनको त्यो असल कार्यको सबैतिरबाट सराहना भइरह्यो। त्यसको कदरस्वरूप सरकारले उनलाई एक तह बढुवा गर्ने निर्णय गर्‍यो।

७०औं प्रहरी दिवसको अवसर पारेर जिल्ला अदालत दाङलाई क्षति हुनबाट जोगाउन भूमिका निर्वाह गरेकी प्रहरी सहायक हवलदार संगीतालाई विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उनी प्रहरी सहायक हवल्दारबाट हवल्दार बनेकी छन्। ‘यो संगीताको मात्र होइन, कर्तव्य निर्वाहमा विवेक पुर्‍याउने सबैको सम्मान हो,’ नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे भन्छन्, ‘यो घटनाबाट सबैले सकारात्मक पाठ सिकेका छन्।’ संगीताको यो काम केवल एउटा प्रशासनिक सफलता मात्र होइन, प्रहरी सेवामा महिलाको प्रभाव र नेतृत्व क्षमताको प्रतीक पनि बनेको छ। जेनजी आन्दोलनले धेरै कुरामा प्रश्न उठायो, शासन प्रणालीदेखि सुरक्षा संयन्त्रसम्म। तर त्यही आन्दोलनले केही नयाँ शिक्षा पनि दियो। हिंसाबिच पनि विवेकको ज्योति निभ्दैन।

‘अदालत जल्नबाट बच्यो। न्यायको घर बाँच्यो अनि एक नारी प्रहरीको मनोबलले देशभर सन्देश फैलायो,’ सामाजिक सञ्जालमा प्रेम रिजाल लेख्छन्, ‘कर्तव्यमा दृढता र मानवतामा आस्था राख्नेहरू कहिल्यै इतिहासबाट हराउँदैनन्।’ संगीतासँगै काठमाडौं महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत असई हेमबहादुर विकलाई पनि एक तह बढुवा गरिएको छ। आन्दोलनका क्रममा घाइते प्रहरी तथा अन्य नागरिकको उद्धारमा विशेष भूमिका निर्वाह गरेका विकलाई पनि ७०औं प्रहरी दिवसको अवसर पारेर बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App