नेपाल प्रकृतिले कृपापूर्वक सजाएको स्वर्गको एक टुक्रा नै हो। पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म, उत्तरका हिमशृंखलादेखि दक्षिणका उर्वर तराईसम्म फैलिएको यो भूमि असीमित र अनगिन्ती सम्भावनाका स्रोतहरूले भरिपूर्ण छ। तरविडम्बना के छ भने, संसारकै अमूल्य स्रोतहरूको मालिक भएर पनिआज हामी विश्वका गरिब राष्ट्रहरूको सूचीमा छौँ!
के नेपाल साँच्चै गरिब देश हो?
उत्तर दृढतापूर्वक आउँछ– कुनै पनि हालतमा होइन, नेपालको धरातल गरिब छैन, केवल हाम्रो सामूहिक सोच, दिगो नीति निर्माणको क्षमता र कार्यान्वयनको दृष्टिमा दरिद्रता छ। हामीले आफ्नै माटो, स्वच्छ पानी, दुर्लभ जडीबुटी, प्रचुर बिजुली र युवा जनशक्तिको रणनीतिक उपयोग गर्न आजसम्म सकेका छैनौं।
अब समय आएको छ– आफ्नै देशका सुतिरहेका ‘सुनौला स्रोत’हरूलाई वैचारिक जागरणमार्फत उठाउने र ठन्डा दिमाग र पौरखी हातले आत्मनिर्भर एवं समृद्ध नेपाल निर्माण गर्ने। यसका लागि अपार सम्भावना हाम्रैसामु उभिएका छन्।
बुद्धभूमिको माटो: अर्थ, आस्था र विश्व ब्रान्डको केन्द्र
लुम्बिनीको माटो साधारण माटो होइन, यो संसारलाई आवश्यक शान्ति, करुणा र ज्ञानको एक ‘वैश्विक ब्रान्ड’ हो। यस माटोको वास्तविक मूल्य सुन, तेल वा पेट्रोलभन्दा कैयौं गुणा ठुलो छ– केवल यसको व्यावहारिक, रणनीतिक र आध्यात्मिक उपयोग गर्न सक्नुपर्छ।
यदि लुम्बिनीलाई विश्व बौद्ध राजधानीका रूपमा विकसित गर्न सकियो भने अन्तर्राष्ट्रिय ध्यान–योग केन्द्र, बौद्ध दर्शन विश्वविद्यालय र उच्च–मूल्यको आध्यात्मिक पर्यटनका माध्यमबाट वार्षिक अर्बौं विदेशी मुद्रा हात पार्न सकिन्छ। बुद्धभूमिको माटो बेच्नुको अर्थ माटोका बोरा बेच्नु होइन, यसको अमूल्य भावना, विश्वशान्तिको दर्शन र गौरवशाली इतिहासको ‘ब्रान्डिङ’ गर्नु हो।
शालिग्राम: आस्था, अर्थशास्त्र र धार्मिक करिडोरको सेतु
कालीगण्डकी नदीले बगाएर ल्याउने शालिग्राम ढुंगा हिन्दु धर्ममा साक्षात् भगवान् विष्णुको पवित्र प्रतीक हुन् । भारत, भूटान, श्रीलंका, थाइल्यान्ड र विश्वभरका हिन्दू धर्मावलम्बीहरूमा यसको माग अत्यधिक र अपरिमित छ।
तर विडम्बना, नेपालमा तिनको वैज्ञानिक संरक्षण, व्यवस्थापन र वैधानिक व्यापारको अभाव छ। यदि राज्यले पारदर्शिताका साथ शालिग्रामको उत्खनन, प्रशोधन र वैधानिक निर्यातको अनुमति दिने हो भने, धार्मिक पर्यटन र अन्तर्राष्ट्रिय व्यापार दुवै फस्टाउनेछन्। कालीगण्डकी करिडोरलाई विश्वस्तरीय धार्मिक–पर्यटन मार्गका रूपमा विकास गरिएपछि, मुक्तिनाथसम्मको यात्राले नेपालका हजारौं स्थानीय हातहरूलाई रोजगारी र दिगो आय दुवै दिलाउन सक्छ।
पानी: ‘अग्लिँदो शताब्दीको तेल’ तथा निलो सुनको सम्भावना
‘पानी अर्को शताब्दीको तेल हो’ भन्ने भनाइ आजको विश्वमा सत्य र अपरिहार्य बन्दैछ। नेपालमा ६ हजारभन्दा बढी नदी, खोला र नालाहरूको विशाल सञ्जाल छ। यी सबै प्रकृतिले दिएका सर्वोत्तम आशीर्वाद हुन्, तर हामीले अझै त्यसको उच्चतम मूल्यको उपयोग गर्न सकेका छैनौं।
हिमालबाट बग्ने अत्यन्त स्वच्छ पानीलाई थोरै प्रशोधन गरी विश्वस्तरीय ब्रान्डिङसहित बोतलमा भरेर विश्व बजारमा पठाउन सकिन्छ। ‘हिमालयन प्युरिटी वाटर’जस्ता ब्रान्डले नेपाललाई विश्वभर चिनाउन सक्छ। त्यस्तै यही पानीलाई आधुनिक कृषि प्रणाली र विशाल जलविद्युत् उत्पादनमा प्रयोग गरेर ’सुन’ फलाउन सकिन्छ। पानी बेच्नु भनेको यसको स्वामित्व बेच्नु होइन, यसको सम्बर्धन, सदुपयोग गर्ने सिप र उच्च–मूल्य सेवा बेच्नु हो।
बिजुली: अन्धकारबाट उज्यालो अर्थतन्त्रतर्फको यात्रा
नेपालको जलविद्युत् उत्पादन सम्भावना ८३ हजार मेगावाट अनुमान गरिएको छ, तर हामीले तीन प्रतिशत पनि पूर्ण प्रयोग गर्न सकेका छैनौं। हाम्रो खोलानालामा निरन्तर ‘उज्यालो ऊर्जा’ बगिरहेको छ। यदि हामीले वास्तवमै लगानीमैत्री, झन्झटमुक्त र दीर्घकालीन नीति अपनायौं भने, भारत, बंगलादेश र चीनजस्ता विशाल बजारहरूमा सस्तो, स्वच्छ र नवीकरणीय ऊर्जा बेचेर नेपालले वार्षिक अर्बौंको स्थिर आम्दानी गर्न सक्छ। बिजुली निर्यातले उद्योग खोल्ने, स्वदेशमा रोजगारी सिर्जना गर्ने र पेट्रोलियम पदार्थको आयात निर्भरता घटाउने कार्य एकसाथ गर्न सक्छ। नेपाली विद्युत् उत्पादनको उज्यालो केवल बत्तीको उज्यालो मात्र होइन, यो राष्ट्रिय समृद्धिको सुनिश्चित र स्थिर उज्यालो हो।
जडीबुटी: एसियाको प्राकृतिक औषधालय
नेपालका हिमाल र पहाडमा पाइने जडीबुटीहरू विश्वकै दुर्लभ, उच्च–मूल्यवान् र चामत्कारिक छन्। यार्सागुम्बा, पाखनवेत, जटामसी, चिराइतो, पदमचाल, पाँचऔंले, सर्पगन्धा, टिमुर, जेठीमधुजस्ता सयौं थरीका जडीबुटीहरू नेपाली प्रकृतिका अमूल्य र जैविक उपहार हुन् तर तिनको प्रयोग परम्परागत, स्थानीय र अव्यवस्थित संकलनको सीमाभित्र मात्र सीमित छ।
यदि सरकारले वैज्ञानिक अनुसन्धान, आधुनिक प्रशोधन र अन्तर्राष्ट्रिय निर्यात उद्योगमा ठुलो लगानी गर्यो भने यी जडीबुटीहरूले अर्बौं डलरको विश्व औषधि तथा कस्मेटिक बजारमा ‘नेपाली ब्रान्ड’ को नाम पाउन सक्छन्। हिमालमा लुकेका यी सम्पदाले नेपाललाई ‘एसियाको प्राकृतिक औषधि केन्द्र’ बनाउने असाधारण शक्ति राख्छन्।
कृषि र फलफूल: माटोमै फल्ने वास्तविक ‘सुन’
नेपालको माटोमा आफ्नै खालको विविधता र उर्वरता पाइन्छ। यहाँको विविध मौसमले बहुमूल्य उत्पादनलाई साथ दिन्छ। उदाहरणका लागि इलामको चिया, जुम्लाको स्याउ, सिन्धुलीको जुनार, धनकुटाको एभोकाडो, पर्वतको सुन्तला, सुनसरी/झापाको केरा, यी सबै आफ्नै भूगोलका विशिष्ट र अन्तर्राष्ट्रिय सम्भावना बोकेका ब्रान्ड हुन्।
यदि यी उत्पादनलाई आधुनिक प्रशोधन, आकर्षक प्याकेजिङ र अन्तर्राष्ट्रिय मापदण्डसहित विश्व बजारमा पठाउने हो भने, किसानमा हौसला र आत्मविश्वास बढ्छ। कृषि पर्यटनको अवधारणालाई विस्तार गरेर ‘स्याउ टिप्ने उत्सव’, ‘सुन्तला अवलोकन’, ‘चियाबारीको व्यावसायिक भ्रमण’ र ‘जुनार पर्व’जस्ता आकर्षक कार्यक्रमले उच्च आयका पर्यटक र स्थानीय आय दुवै ल्याउन सक्छन्।
पर्यटन: हिमाल, संस्कृति र अनुभवको त्रिवेणी
नेपालमा संसारका १४ मध्ये आठ वटा अग्ला हिमालहरू छन्। सयौं ऐतिहासिक मन्दिर छन्। प्राचीन गुम्बाहरू छन्। विश्व सम्पदा सूचीमा परेका दरबार छन्। कुमारीलगायतका अनेकौं राष्ट्रिय/जातीय परम्परा जीवित छन् तर विश्व पर्यटन बजारमा तिनको प्रचारप्रसार हुनुपर्ने जति भएको छैन।
यदि सुरक्षित, पहुँचयोग्य यातायात सञ्जाल, अन्तर्राष्ट्रिय गुणस्तरका होटल र लक्ष्यकेन्द्रित आकर्षक प्रचारप्रसारमा लगानी गर्ने हो भने, नेपालमा आउने र उच्च–खर्च गर्ने पर्यटकको संख्या हरेक वर्ष गुणात्मक रूपमा बढाउन सकिन्छ। पर्यटन उद्योगले मात्रै लाखौं युवालाई दिगो रोजगारी दिन सक्छ र विदेशी मुद्रा भण्डारलाई अभूतपूर्व बलियो बनाउन सक्छ।
स्मरणीय छ– पर्यटनमा लगानी गर्नु भनेको केवल व्यापार बढाउनु मात्र होइन, यो हाम्रो अद्वितीय संस्कृति र भविष्यको अर्थतन्त्रमाथिको लगानी पनि हो।
श्रम होइन, सिप र सेवा बेच्ने देशको परिकल्पना
नेपालबाट अहिले युवा पलायनको क्रम बढ्दो छ। यसलाई हामीले हामीलाई नै चाहिने श्रम निर्यातका रूपमा बुझ्नुपर्छ तर, विदेशमा पसिना बगाउने ती लाखौं कर्मठ हातहरूले यहीं स्वदेशमै मूल्यवान् उत्पादन गर्न पाए भने देशले केवल श्रमिक होइन, उच्चमूल्यका वस्तु र सेवा निर्यात गर्न सक्थ्यो। त्यसैले हामीले विदेश युवा पठाउने होइन, गुणस्तरीय उत्पादन र बौद्धिक सेवा पठाउने देश बन्नुपर्छ। ज्ञान–सिपमाथि आधारित उद्योग, प्रविधि र उद्यमले मात्र नेपाललाई आत्मनिर्भर र उत्पादक बनाउनेछ। ‘श्रम निर्यात गर्ने देश’बाट ‘सिप, आत्मनिर्भर, नवप्रवर्तन र प्रविधिको देश’ मा रूपान्तरण हुनु अबको आवश्यकता हो।
खानी र खनिज: माटोमुनिको ‘अप्रयुक्त’ भूगर्भीय धन
नेपालको विस्तृत भूगर्भीय अध्ययन त भएकै छैन। जति भएको त त्यसले देखाउँछ– यहाँ सुन, फलाम, तामा, बहुमूल्य युरेनियम, चुना, डोलोमाइट जस्ता खनिजको विशालभण्डार छ तर आधुनिक प्रविधि, विशाल लगानीर स्पष्ट नीतिगत स्थिरताको अभावका कारण ती स्रोतहरू प्रयोगविहीन र ओझेलमा छन्। यदि पारदर्शी साझेदारी र उत्तरदायी खानी नीति ल्याइयो भने, खानी उद्योग नै नेपालको अर्को आर्थिक क्रान्तिको मेरुदण्ड बन्न सक्छ।
ज्ञान, अनुसन्धान र प्रविधि: दीर्घकालीन समृद्धिको ‘म्याग्नेट’
वास्तविक धन उत्पादनको मूल सूत्र ज्ञान र प्रविधिमा आधारित नवप्रवर्तन नै हो। यदि नेपालले उत्पादनमुखी, समस्या समाधानमुखी शिक्षा प्रणाली, उच्चस्तरीय अनुसन्धान केन्द्र र नवप्रवर्तनका लागि सरकारी प्रोत्साहनमा उल्लेखनीय लगानी गर्यो भने, हाम्रा युवाले आफ्नै सिर्जनशीलता, सफ्टवेयर र बौद्धिक क्षमता विश्व बजारमा बेच्न सक्नेछन्। शिक्षा र अनुसन्धानमा लगानी गर्नु भनेको नेपालको ‘ज्ञान–अर्थतन्त्रयुक्त’ भविष्यमाथिको सबैभन्दा ठूलो र सुरक्षित लगानी गर्नु हो।
समृद्ध नेपालको बिउ हाम्रै माटोमा छ
नेपाल समृद्ध बन्नका लागि कुनै नयाँ, जादुमय चमत्कारको आवश्यकता छैन। यसका लागि केवल इमानदार राष्ट्रिय दृष्टि, स्थिर नीतिगत परिपक्वतार सामूहिक परिश्रमको आवश्यकता छ। हामीसँग माटो, पानी, जडीबुटी, हिमाल, सीप र श्रम सबै पर्याप्त छ। अभाव केवल राष्ट्रिय स्वार्थभन्दा माथि उठ्न सक्ने दूरदृष्टिको हो।
यदि नेतृत्वले राष्ट्रिय हितको स्पष्ट दृष्टि अपनायो, युवाले स्वदेशमै उत्पादन र उद्यमशीलता रोजे, हामी सबैले केवल स्रोतहरूको कुरा होइन, गरिब सोच बदलेर उत्पादक सोचमा रूपान्तरण गर्यौं भने नेपाल समृद्ध बन्ने बाटो हाम्रै खुट्टामुनि, हाम्रै माटोमा र हाम्रै हातमा छ।
हामी समृद्ध बन्ने सपना अरूले देखाइदिने होइन, हाम्रै माटोको स्पर्श, हाम्रै पसिनाको गन्ध र हाम्रै अटल विश्वासले साकार पार्ने हो। अपार समृद्धिको बीउ प्रकृतिले हाम्रो भूमिमा पहिले नै शक्तिशाली रूपमा गाडिदिएको छ। अब त्यसलाई सही नीति, लगानी र परिश्रमको पानीले सिञ्चित गर्ने हाम्रो पालो हो।
प्रकाशित: १ कार्तिक २०८२ १०:२४ शनिबार





