६ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

सडकले हरायो ‘खच्चड’

कर्णाली राजमार्ग खुल्नुअघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको जीवनरेखा थियो। गाउँदेखि बजारसम्म सामान पुर्‍याउने भरपर्दो साधन खच्चडलाई कतै ‘हिमाली ट्रक’ त कतै ‘कच्ची सडकको ट्याक्टर’ भनिन्थ्यो। तर गाउँगाउँमा सडक पुगेसँगै ट्रक, जीप र ट्याक्टरले खच्चडको स्थान ओगटेका छन्।

जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँका खच्चड व्यवसायी सुकबहादुर बोहोराका अनुसार पहिले खच्चड व्यवसाय निकै राम्रो थियो। गाउँ–गाउँमा सामान पुर्‍याउने कामलाई सम्मानका साथ हेरिन्थ्यो। सडक बनेपछि भने यो व्यवसाय धराशायी बन्दै गएको छ। उनी अहिले पनि घरमै सात वटा खच्चड पालिरहेका छन्। कहिलेकाहीँ जुम्लाको सदरमुकाम खलंगामा बजारदेखि सामान बोक्ने काम गर्छन्, तर त्यो नियमित रोजगारीका लागि होइन, आवश्यकताका लागि मात्र हो। उनका लागि खच्चड पशु मात्र नभई विगतको मेहनत, कमाइ र आत्मसम्मानसँग जोडिएको साथी हो।

यस्तै, जुम्लाको दुर्गम कनकासुन्दरी गाउँपालिका–२ का सन्तबिर रावतले २०५२ देखि २०६३ सम्म खच्चड व्यवसाय गरेका थिए। उनका खच्चडले गाउँमा सामान ढुवानी मात्र होइन, सेवाको माध्यमको भूमिका पनि निभाए। सडक सञ्जाल विस्तार भएपछि उनी यो व्यवसायबाट अलग्गिए। अहिले खच्चड देख्दा विगतका दिन सम्झना आउने उनी बताउँछन्।

सिंजा गाउँपालिका–६ रुघा गाउँका सर्पजित बुढाका अनुसार खच्चड व्यवसाय अहिले संकटमा छ। मोटरबाटो नपुगेका ठाउँमा घाँस, दाउरा, बालुवा, सिमेन्ट र घर निर्माणका लागि ढुंगा बोकाउने काममा मात्र खच्चड प्रयोग हुने गरेको छ। सडकको पहुँच बढेसँगै सस्तो र छिटो साधनका रूपमा गाडी प्रयोग गर्न थालिएपछि खच्चड व्यवसाय विस्थापित बनेको छ। बिक्री गर्न खोज्दा पनि खच्चड बिक्री नहुने अवस्था आएको छ। कुनै समय एक खच्चड लाखौँ रुपैयाँमा बिक्री हुने गरेकामा अहिले यसको मूल्य ह्वात्तै घटेको छ।

ढुवानीका लागि खच्चड उत्कृष्ट र भरपर्दो माध्यम मानिन्थ्यो। तर सवारी साधन र सडक विस्तारपछि खच्चडमार्फत ढुवानी महँगो पर्न थालेपछि किसानले खच्चड पाल्न छाडे। पातारासी गाउँपालिका–५ का धनविर बुढाका अनुसार सडक पुगेका क्षेत्रमा खच्चड प्रयोगको अवस्था नै छैन। खच्चड व्यवसायबाट जीविकोपार्जन गर्नेहरू विस्थापित हुने अवस्थामा पुगेका छन्। कुनै समयको प्रमुख ढुवानी साधन खच्चड अहिले दन्त्यकथाजस्तै बनेको छ।

कर्णालीका गाउँमा खच्चड केवल व्यवसाय मात्र थिएन, यो जीवनशैली र संस्कृतिसँग गाँसिएको थियो। दर्जनौँ खच्चड पाल्ने किसान र व्यवसायी गाउँका ‘समृद्ध’ मानिन्थे। सडक सञ्जाल विस्तारसँगै ती खच्चड आज बिरलै देखिन्छन्।

संघीय व्यवस्था कार्यान्वयनपछि गाउँगाउँमा पुगेको राज्य संयन्त्रले पछिल्ला पाँच वर्ष सडकलाई प्राथमिकतामा राख्यो। जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका, सात वटा गाउँपालिका र ६० वडामा सडक सञ्जाल विस्तार भएको छ। २०६३ साल चैत ३० गते जुम्लामा पहिलो पटक गाडी पुगेको थियो। त्यसअघि हवाईजहाज मात्र यातायातको साधन थियो। चामल, तेल, नुनजस्ता दैनिक उपभोग्य वस्तु सबै खच्चडले नै बोक्थे।

आज ती खच्चड केवल स्मृतिमा बाँचेका छन्। सडकले ल्याएको सुविधा र आधुनिकताको छायाँमा खच्चड व्यवसायले एउटा युग छोडेको छ। तर तिनले बोकेको माटो, काँधमा राखिएको बोरा र घाँटीको घण्टीको आवाज अझै पनि जुम्लाका गाउँगल्लीमा सम्झनाका रूपमा गुञ्जिरहेकै छन्। सुकबहादुर, रावत र बुढाजस्ता किसानका स्मृतिमा खच्चड व्यापार मात्र होइन, जीवनकै कथा बनेर बाँचेका छन्।

प्रकाशित: २७ पुस २०८२ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App