एशियन प्यासिफिक चिल्ड्रेनस् कन्वेन्सन (एपीसीसी) २०२५ मा सहभागी हुन नेपाली विद्यार्थीहरुको प्रतिनिधिमण्डल जापान गएको छ । जापानको फुकुओकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन ६ सदस्यीय टोली शुक्रबार त्यसतर्फ उडेको हो ।
एपीसीसी अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान गर्ने कार्यक्रम हो, जुन हरेक वर्ष आयोजना हुँदै आएको छ ।
यसको उद्देश्य एशिया प्यासिफिक क्षेत्रका बालबालिकाबीच मित्रता र आपसी समझदारी अभिवृद्धि गर्नु रहेको उल्लेख गर्दै नेपालका लागि एपीसीसीकी ब्रान्ड एम्बासेडर लाइबा रायनले सानै उमेरदेखि विश्वशान्ति र सहकार्यलाई प्रोत्साहन गर्न कार्यक्रम फलदायी रहँदै आएको दाबी गरिन् ।
नेपाली प्रतिनिधिहरूले यो वर्ष राष्ट्रिय पहिचानका साथै एकता, संस्कृति र नेपालको भावना समेत विश्वमञ्चमा प्रस्तुत गर्ने उनको भनाइ छ ।
यसरी अन्तर्राष्ट्रिय फोरममा नेपालको पहिचान र संस्कृति प्रस्तुत गर्न पाउनु गर्वको विषय रहेको बताउँदै रायनले नेपालले विश्वका युवा सहभागी हुने कार्यक्रममा दिने प्रस्तुतीले मुलुकको संस्कृति र भेषभुषालाई विश्वसामु पुर्याउने उल्लेख गरिन् ।
प्रकाशित: २७ असार २०८२ १८:२४ शुक्रबार





