पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा गत बिहीबार गएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ सहित १० जनाको मृत्यु भएको छ।
सो दुर्घटनामा पुर्जासहित ६ जना नेपाली आरोही रहेका थिए। यसबिच आइतबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति आलोचित भएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अन्य आरोहीलाई नेपाली भनिए पनि निर्मल पुर्जाको हकमा भने ‘नेपाली’ शब्द प्रयोग गरिएको छैन।
मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा ‘दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित’ भन्ने भाषा प्रयोग गरिएको छ। तर अन्य निधन भएका आरोहीहरूलाई भने नेपाली भनेर सम्बोधन गरिएको छ। पुर्जाले तीन वर्षअगाडि गैरआवासीय नेपाली नागरिकता लिएका थिए। विदेशी सञ्चारमाध्यमले उनलाई नेपालीमा जन्मिएका बेलायती भूपू सैनिकको रूपमा उल्लेख गर्दै आएका छन्।
बिहीबार ६ हजार ६०० मिटरको उचाइमा (क्याम्प-२ बाट क्याम्प-३ जाने क्रममा) गएको पहिरोमा परी नेपालका पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्त’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पाले ज्यान गुमाएका थिए। सो घटनामा अन्तर्राष्ट्रिय आरोहण दलका अन्य चार सदस्यहरूको पनि निधन भएको थियो। यो घटनाले पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको मन्त्रालयले जनाएको छ।
घटनालगत्तै पाकिस्तानका सम्बन्धित निकाय र नेपाली टोलीले खोज तथा उद्धार कार्य तीव्र बनाएका थिए। मन्त्रालयका अनुसार दुर्घटनामा निधन भएका नेपालीहरूमध्य पुरबहादुर र ग्यालुको शव घटनास्थलबाट तल झारिसकिएको छ।
साथै, बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। साथै, शवहरू स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
प्रेस विज्ञप्ति हेर्नुस्
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा मिति २०८३ साउन १४ (३० जुलाई २०२६) का दिन ६,६०० मिटरको उचाइमा (क्याम्प-२ बाट क्याम्प-३ जाने क्रममा) गएको विनाशकारी हिम पहिरोमा परी आरोहीहरूको दुःखद निधन भएको छ।
यस दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा “निम्स दाइ” सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ “युक्ता”, किली पेम्बा शेर्पा “किलु”, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।
नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए। उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको हामी सराहना गर्दछौँ।
दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ “युक्ता” र ग्यालु शेर्पाको शव घटनास्थलबाट तल झारिसकिएको छ भने बाँकी शवको उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ। साथै, आरोहीहरूका शव स्वदेश फिर्ता ल्याउन इस्लामाबादस्थित नेपाली राजदूतावासले आवश्यक सहजीकरण गरिरहेको जानकारी गराइन्छ।
यस दुःखद घडीमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८३ साउन १७

प्रकाशित: १७ श्रावण २०८३ १९:१० आइतबार





