जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते भएका आगजानी र तोडफोडबाट देशैभर एक खर्ब रुपैयाँ बराबर सरकारी भवनमा तथा करिब ४ अर्ब रुपैयाँ बराबार सरकारी सवारी साधानमा क्षति भएको प्रारम्भिक विवरण तयार गरिएको छ ।
नेपाल इञ्जिनियर एशोसियनले एउटा टोली बनाइ देशभरी भएको क्षतिको बारेमा विवरण संकलन गरीरहेको छ । उक्त टोलीमा सहरी विकास तथा भवन निर्माण विभाग तथा स्टक्चर इञ्जिनियरहरूको प्रतिनधि समेत सहभागी छन् । उक्त टोलीले प्रारम्भिक विवरण तयार गरेको छ । बिस्तृत विवरण तयार गर्ने काम भइरहेको एशोसियसनले जनाएको छ ।
सहरी विकास मन्त्रालयका सहसचिव तथा विशेष भवन आयोजनाका प्रमुख सुनिल ठाकुरका अनुसार जेनजी आन्दोलनको क्रममा देशभरी ३ सय ८० वटा भवनमा क्षति पुगेको छ । तीमध्ये ९३ भवनमा सामान्य क्षति भएको छ । यसैगरी १ सय ८० वटा भवनमा आंिशक क्षति भएको छ र १ सय ५ वटा भवनमा पूर्ण क्षति भएको छ ।
एशोसियनका अध्यक्ष सुवास चन्द्र बरालका अनुसार संघीय सरकारका मातहतमा रहेका भवन बाहेक प्रदेश सरकरको मातहतमा ६० वटा र देशभरी विभिन्न स्थानीय तहमा गरी १सय ५० वटा नगरपालिकाका भवनमा आगजानी भएको छ । उनले भने,‘हाम्रो प्रारम्भिक रिपोर्ट अनुसार आगजानी र तोडफोड भएका भवन मध्ये ६० प्रतिशत भवनमा आंिशक क्षति भएको छ । २० प्रतिशत भवन प्रयोग गर्न मिल्दैन । बाँकि २० प्रतिशत भवन जगबाटै बनाउनु पर्ने गरी पुनर्निर्माण गर्नु पर्ने हुन्छ ।’ उनका अनुसार देशभरी करिब ४सय सरकारी गाडी र करिब ६ सय मोटरसाइकलमा क्ष्ति भएको छ । यसको कुल वजार मूल्य करिब ४ अर्ब रुपैयाँ बराबराको रहेको बरालले बताए ।
सिंहदरबारको मूल भवन जगैबाट भत्काउनु नपर्ने
११७ वर्षअघि १९६५ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएको सिंहदरबार परिषर भित्रको मूल भवन जगैबाट भत्काउनु नपर्ने भएको छ । इञ्जिनियरहरूको प्रारम्भिक रिपोर्ट यस्तो देखिएको बरालले बताए । उनले भने,‘तर बिस्तृत अध्ययन गर्न बाँकि नै छ । तर हामीले गरेको प्रारम्भिक अध्ययनबाट मूल भवन पुनर्निर्माण गर्दा जगैबाट भत्काउनु पर्दैन । यसबारेमा सरकारले तत्कालै बिस्तृत अध्ययन अघि बढाउनु पर्छ ।’
२०७२ सालको भुकम्पपछि यसको पुनर्निर्माण गरिएको थियो । पुनर्निमणपछि पहिलेकै अवस्थामा ल्याएको थियो । यसैगरी २०३० सालको असार २५ गते सिंहदरबारमा आगलागी भएको थियो । आगलागीबाट परराष्ट्र मन्त्रालयका महत्वपूर्ण दस्तावेज नष्ट भएका थिए । यसपटक पनि महत्वपूर्ण दस्तावेज नष्ट भएका छन् । त्यतिबेला पनि मूल भवनको पुनर्निमाण गरिएको थियो । त्यतिबेला गरिएको पुनर्निर्माणमा पहिलेको स्वरुपमा केही परिवर्तन गरिएको थियो ।
आगलागीबाट खण्डहर भएको सिंहदरबार मूल भवनलाई यतिबेला सरकारले पर्दा लगाएर छोपेको छ । विज्ञहरू भन्छन, यसको पुनर्निर्माणको काम तत्काल अघि बढाउनु पर्छ । प्रारम्भिक रिपोर्ट अनुसार सिंहदरबारको मूल भवन, सर्वोच्च अदालत रहेको उत्तरपट्टिको भाग, स्वास्थ्य मन्त्रालयको भवन र काठमाडौं जिल्ला अदालत भवन उच्च जोखिममा रहेकाले पूर्ण रूपमा प्रयोग गर्न नमिल्ने अवस्थामा छन्। ती भवनहरूमा सरसफाइका लागि मान्छे छिर्नसमेत नहुने अध्ययनबाट पाइएको छ ।
कहिलेबाट सुरु हुन्छ पुनर्निर्माण ?
सरकारले आगलागी तथा तोडफोड भएका सकारी भवनहरूको पुनर्निर्माण प्रक्रिया अघि बढाएको छ । जेनजी आन्दोलनबाट क्षति भएको भौतिक संरचनाको पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरीसकेको छ । कोषलाई अघि बढाउन अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ जारी गरेको छ । उक्त कोषमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्रदेखि गैरआवासीय नेपालले सहयोग गर्न सक्नेछन् ।
प्रकाशित: ९ आश्विन २०८२ १९:०० बिहीबार





