३० वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

आँगनमै नागरिकता पाउँदा खुसी, भन्छन् : सदरमुकाम जाने खर्च जोगिने भयो

रास्कोट नगरपालिका-५ का सर्जन रोकाया ८२ वर्षका भए। कामको सिलसिलामा एक वर्ष पहिला गाउँमै उनको नागरिकता हरायो। हिँड्डुल गर्न नसकेपछि उनले प्रतिलिपि लिन सकेका थिएनन्। सोमबार पहिलो पटक आँगनमै नागरिकताको प्रतिलिपि प्राप्त गरे।

‘नागरिकता बनाउनका लागि सदरमुकाम मान्म जाँदा दुई-तीन दिन समय लाग्थ्यो, सदरमुकाम जाँदा ५ हजारसम्म खर्च हुने, साथमा सातेलिनुपर्ने, गाडीभाडा, खानपिनमा झनझट हुने भएकाले आजसम्म नागरिकताको प्रतिलिपि लगेको थिइनँ,’ इलाका प्रशासन कार्यालय रास्कोटबाट नागरिकताको प्रतिलिपि लिँदै उनले भने।

रोकाया जस्तै गाउँमै नागरिकता लिन पाउँदा अन्य स्थानीयहरू समेत खुसी छन्। पचालभरना गाउँपालिका-८ की अप्सरा संज्यालले पहिलो पटक नागरिकता प्राप्त गरेकी छन्। १६ वर्षकी अप्सराले छिमेकी पालिकाबाट नागरिकता बुझ्दै भनिन्, ‘धेरै सहजता थपिएको छ। अब सदरमुकाम धाउनुपर्ने बाध्यता र खर्चको अन्त्य हुने भयो।’

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सोमबारबाट इलाका प्रशासन कार्यालयबाट नागरिक सेवा प्रवाह सुरु गरिएको छ। इलाका प्रशासन स्थापना भएसँगै स्थानीय नागरिककाे खर्च तथा सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।

जिल्ला प्रशासन कार्यालय, कालीकोटबाट विगतदेखि उपलब्ध गराउँदै आएका नागरिकता र राष्ट्रिय परिचयपत्रको आवेदन संकलन तथा कार्ड वितरण लगायतका सेवाहरूलाई छिटो, छरितो, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले इलाका प्रशासन कार्यालय रास्कोटबाट सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए।

उनका अनुसार रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका सेवाग्राहीहरूलाई नागरिकता र राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू इलाका प्रशासन कार्यालय रास्कोटबाट लिन सक्ने छन्।

लामो समयदेखि यस क्षेत्रको नागरिकले राख्दै आएको माग सम्बोधन भएकामा रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाहीले खुसी व्यक्त गरे। ‘यहाँ इलाका प्रशासन कार्यालय राखेर सेवा पाउनुपर्छ भनेर धेरै पहिलेदेखि माग गरिरहेका थियौँ। त्यो माग पूरा भएको छ,’ उनले भने, ‘अब यस क्षेत्रका नागरिकलाई नापी, मालपोतलगायत जोडिएका अन्य समस्या पनि समाधान हुने छन्।’ उनले अहिले भवनको काम भइरहेकाले तत्काल नागरिक सेवा प्रवाहलाई निरन्तरता दिएकाे बताए।

रास्कोटमै इलाका प्रशासन कार्यालय स्थापना भई सेवा सुरु हुनु ऐतिहासिक कदम भएको प्रतिनिधिसभा सांसद महेन्द्रबहादुर शाहीले बताए। उनले नागरिकको पहिचान सुनिश्चित गर्दै सेवा प्रवाहलाई अझ छिटो, सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

यस कामका लागि पहिलेदेखि चुवानी नारा बनाएको उनको भनाइ छ। साथै, यो महत्वपूर्ण पहल गरी सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत उनले दिए

‘विशेषगरी वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई झन् समस्या हुन्थ्यो,’ रास्कोटका-३ का कर्ण कुमालले भने. ‘अब गाउँमै सेवा पाइने भएपछि हामीलाई ठूलो राहत मिलेको छ।’ यस क्षेत्रका नागरिकले अब नागरिकता, सिफारिस लगायतका प्रशासनिक सेवा लिन सदरमुकामको लामो दूरी तय गर्नपर्ने बाध्यता हटेको उनको भनाइ छ।

इलाका प्रशासन कार्यालयका लागि कामु शाखा अधिकृत नवराज बमको नेतृत्वमा कर्मचारीहरू खटिएको छ। रास्कोटमा इलाका प्रशासनको सेवाबाट चार पालिकाका ५० हजार बासिन्दालाई सहज हुने सहायक प्रजिअ जनक शर्माले बताए।  

नागरिकता लिनकै लागि ५ देखि ८ हजार खर्च हुने अवस्थाबाटको अन्त्य भएकाले आफूलाई खुसी लागेको पचालझरना-८ का धनप्रसाद संज्यालले बताए। उनले भने, ‘अब खर्च जोगिने भयो।’

सेवा प्रारम्भका क्रममा प्रतिनिधिसभा सदस्य शाहीले पचालझरना गाउँपालिकाकी–अप्सरा संज्याललाई नागरिकता प्रदान गरेका थिए। यस्तै प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले रास्काेटका सर्जन रोकायालाई नागरिकताको प्रतिलिपि प्रदान गरे।

प्रकाशित: ७ वैशाख २०८३ १५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App