निधारभरि रातो टीका, भारी मन, हातमा सम्मान पत्र र बुकी बोकेर एक व्यक्ति अस्पताल भवनबाट बाहिरिए। सिँढी झरेर फरक्क फर्किए, पुलुक्क टाउको उठाएर अस्पतालको बोर्ड नियाले। हातमा बोकेका सामान सिँढीमा राखे। बोर्डतिरै फर्किएर दुई हात जोडेर नमन गरे। अनि दण्डवत् झुकेर आँगनमा शिर राखेर ढोगे।
यो दृश्य रोल्पा अस्पताल रेउघाको हो। दृश्यमा देखिएका व्यक्ति रोल्पा थवाङका उमेश कालामगर हुन्। रेडियोग्राफर निरीक्षक(छैटौँ तह अधिकृत) काला मगर १० वर्ष रोल्पा अस्पतालमा सेवा गरेका थिए। त्यही अस्पतालबाट बिदा हुँदा कालामगरले यसरी भावुक लिएका हुन्। जसको चर्चा अहिले जिल्लाभर चलिरहेको छ।
‘लामो समय मनदेखि काम गरेको संस्थाबाट बिदाइ हुँदा नमिठो लाग्दो रहेछ,’ कालामगरले भने, ‘रोल्पा अस्पताल मनमा सधैँ रहिरहनेछ ।’ उनले आफू अस्पतालमा कार्यरत रहँदा राम्रो गर्ने प्रयासकै रूपमा काम गरेको बताए। ‘यहाँबाट मिठो सम्झना बोकेर जाँदै छु’, उनले भने।
दुर्गमको यो अस्पतालमा काला मगर २०७२ साल फाल्गुन १८ गते हाजिर भएका थिए। त्यसअघि रोल्पा अस्पतालमा कार्यालय सहयोगीको भरमा भिडिओ एक्स-रे सेवा चलिरहेको थियो। उनी आइसकेपछि मात्रै यहाँ बिरामीले उक्त सेवा सहज रूपमा पाउन थालेका थिए। ‘रोल्पा अस्पतालमा रेडियोग्राफर नै थिएन। कसैलाई पनि दरबन्दी छ भन्नेसमेत थाहा थिएन’, कालामगरले भने, ‘किताब खानामा दरबन्दी नै थिएन। त्यहाँ दर्ता गर्न लगाएर सरुवा गरेको थिएँ।’
त्यसरी सेवा गर्न पाउनु पनि उनले आफ्नो भाग्यकै रूपमा लिएका छन्। उनले भने, ‘रोल्पाको सेवा गर्न पाउनु मेरो भाग्य थियो। १० वर्ष खुसी भएरै बसे। यस दौरान ६० हजारभन्दा बढी रोल्पालीको एक्स-रे गरेको छु। आफ्नै ठाउँमा सेवा गर्न पाउनु पनि ठुला कुरा हो।’
सेवाकालमा रोल्पाली जनताले आफूलाई उस्तै माया गरेको पनि कालामगरको अनुभव छ। ‘यहाँ माया पाएँ। मनदेखि काम गरेँ,’ उनले भने। अब भने उनी घर नजिक पर्ने गरी रुकुम सरुवा गएका छन्। उनी भन्छन्, ‘रोल्पा अस्पतालसँग गुनासो भएर सरुवा मागेको होइन। अब घर पायक भनेर रुकुम आएको हुँ, परिवारको सहजताका लागि।’
काला मगर पुरानो र सबैजसो बिरामीले माया गर्ने कर्मचारी रहेको अस्पताल प्रमुख डा. प्रमोद कट्टेल बताउँछन्। ‘असाध्यै सहयोगी र सबैलाई माया गर्ने स्वभाव उहाँको थियो। कामप्रति लगनशील पनि हुनुहुन्थ्यो,’ उनले भने। अस्पताल विकास समितिका अध्यक्ष शेरबहादुर थापा पनि काला मगर इमानदार र कर्तव्यनिष्ठ कर्मचारी भएको बताउँछन्।
बन्दुक बोकेका हातमा एक्स–रे मेसिन
काला मगर अस्पताल पस्नुअघि तत्कालीन विद्रोही नेकपा माओवादीको लडाकु भएर विभिन्न भिडन्तमा सहभागी भइसकेका व्यक्ति हुन्। ‘२०५८ सालमा म जनमुक्ति सेनामा भर्ती भएको थिएँ। त्यहाँ साना ठुला गरेर करिब दुई दर्जन लडाइँ लडियो होला,’ कालामगरले सम्झिए।
जुम्ला सदरमुकाम खलंगा, रुकुम खारा दुई पटक, अर्घाखाँची, पाल्पालगायत धेरै स्थानका भिडन्तमा उनी लडेको बताउँछन्। उनी अगाडि भन्छन्, ‘शान्ति प्रक्रियापछि क्यान्टोनमेन्टमा नगएर पार्टीले दिएको जिम्मेवारीअनुसार वाइसिएलमा दाङमा खटिएको थिएँ। त्यहीँ बस्दा अध्ययनको महत्वबारे धेरै सिक्ने मौका पाएँ।’
तीन वर्षको दाङ बसाइपछि काला मगर रोल्पा फर्किएर एसएलसी उत्तीर्ण गरे। त्यसपछि प्लस–टु पनि गरे। ‘त्यसपछि केही टेक्निकल पढ्नुपर्छ भन्ने सोच आयो। अनि २०६७ मा काठमाडौं गएर तीन वर्षे रेडियोग्राफी पढेँ,’ उनी सम्झन्छन्, ‘२०७० मा रेडियोग्राफी सकेपछि २०७१ मै लोकसेवा दिएँ।’
लोकसेवामा उत्तीर्ण भएपछि उनको पहिलो पोस्टिङ जाजरकोट जिल्ला अस्पतालमा भएको थियो। ‘त्यहाँ एक वर्ष सेवा गरेपछि रोल्पा सरुवा भएर आएको थिएँ,’ उनले भने। सँगै कालामगरले अध्ययनलाई पनि निरन्तर दिएको उनी बताउँछन्। स्वास्थ्य मूल विषयमा स्नातक गरेका उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।
हरेक व्यक्तिले समाजमा प्रेरणाको पात्र बन्नसक्नुपर्ने बुझाई कालामगरको छ। माओवादी युद्ध लडेदेखि हालसम्मको जीवनमा धेरै गुनासो उनको छैन। ‘व्यक्तिगत जीवनमा फर्केर हेर्दा केही आत्मग्लानि त लाग्छ नै। तर, हामीले त्यो पनि नगरेको भए परिवर्तन सम्भव थिएन कि भन्ने लाग्छ। त्यसले सन्तोष मिल्छ,’ उनले भने।
अहिले देशको अवस्था हेर्दा आफ्नो त्याग यत्तिकै लागि मात्र थियो त? भन्ने प्रश्न भने बेलाबेला उनको मनमा उब्जिरहन्छ। ‘तर समग्रतामा व्यवस्था परिवर्तन गर्न सकेकोमा खुसी लाग्छ’, कालामगरले भने, ‘सँगै लडेका अन्य साथीहरूमा अझ बढी गुनासो देख्छु, सुन्छु। व्यवस्था बदलेपछि आफ्नो व्यक्तिगत जीवनमा नफर्केका साथीहरू दुखी छन्।’
प्रकाशित: १२ आश्विन २०८२ १५:१३ आइतबार





