प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिएका छन् ।
चीनको औपचारिक भ्रमणमा रहेका उनले सोमबार ‘सांघाई सहयोग संगठन प्लस बैठक’लाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । सोही सन्दर्भमा चीनले प्रस्ताव गरेको ग्लोबल गभर्नेन्स इनिसिएटिभ (जिजिआई) ले संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर साझा भविष्यका लागि, समुदायका लागि अझ न्यायपूर्ण, समावेशी र समतामूलक बनाएर बहुपक्षीय प्रणालीलाई सुदृढ गर्न मद्दत गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले विज्ञान, प्रविधि र नवीनताका कारण निर्माण भएको असाधारण युगमा पनि बढ्दो असमानता, आर्थिक अस्थिरता, जलवायु आपतकाल र सीमाविहीन द्वन्द्वहरूका कारण गहिरो विभाजनले कैयौं मुलुकको प्रगति ओझेलमा परेको उल्लेख गरे । ‘यस्तो संसारमा कुनै पनि राष्ट्र एक्लै सुरक्षित रहन सक्दैन । कुनै पनि देशका जनता खण्डित अवस्थामा समृद्ध हुन सक्दैनन् । यसैले बहुपक्षीयता हाम्रो समयको अपरिहार्यता हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तैपनि हामीले एउटा कठोर सत्यको सामना गर्नुपर्छ । नियममा आधारित व्यवस्थालाई चुनौती दिइएको छ । शान्ति र न्याय अझै पनि टाढा छन्, बहुपक्षीयता संकटमा छ ।’
बहुपक्षीय मञ्चले धेरै वाचा गर्ने गरे पनि थोरै मात्र प्रवाह हुने गरेको उल्लेख गर्दै उनले प्रगतिबिनाका वाचाले विश्वास घटाउने बताए । सांघाई सहयोग संगठनले सार्वभौम समानतामा आधारित पुनरुत्थानशील बहुपक्षीयताको भावनालाई पूरक बनाउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संगठन अझ एकताबद्ध, एकीकृत र भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटको सामना गर्न अझ लचिलो हुनुपर्ने आवश्यकता औंल्याए ।
प्रधानमन्त्री ओलीले क्षेत्रीय सुरक्षाको सम्बोधन नगरी शान्तिको कुरा गर्न नसकिने बताउँदै चुनौतीहरूले हरेक दिन सीमा पार गरेको उल्लेख गरे । ‘आतंकवादले समाजबाट सुरक्षा र अवसर खोस्छन् । जलवायु परिवर्तनले जोखिमलाई बढाउँछन् । हिमाली मुलुक नेपालले यसको सामना सिधै महसुस गर्छ,’ उनले भने, ‘बढ्दो तापमानका कारण विश्वव्यापी जलवायुको स्थिरताका प्रतीक हिमालले हिउँको भण्डार गुमाउँदै छन्, जसले तल्लो तटीय क्षेत्रमा बस्ने अर्बौं मानिसको जीवनलाई खतरामा पारेको छ ।’
उनले साइबर हमला, महामारी, पारिस्थितिक संकटजस्ता उदीयमान खतरा सीमित नभएको उल्लेख गर्दै दिगो विकास लक्ष्य प्राप्त गर्न केवल पाँच वर्ष बाँकी रहँदा लक्ष्य हासिल गर्ने दिशामा पछाडि परेको बताए । प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोगप्रति नेपालको प्रतिबद्धता अटल रहेको र सांघाई सहयोग संगठनका सदस्यसँगको सम्बन्ध बलियो रहेको उल्लेख गरे । उनले आगामी दिनमा एक्लोपनाबाट सम्पर्क सञ्जालतर्फ, टकरावबाट परामर्शतर्फ र प्रतिस्पर्धाबाट सहकार्यको आवश्यकता औंल्याए । यसका लागि भौतिक, आर्थिक, डिजिटल, सामाजिक–सांस्कृतिक र जनजनबिचको सम्पर्क बढाएर क्षेत्रीय शान्ति, प्रगति र समृद्धि प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी सांघाई भावनालाई अँगालेर गहिरो समझदारी बढाउन संवाद र कूटनीतिलाई तीव्रता दिनुपर्ने तथा विश्वलाई विभाजन नभई थप साझेदारी चाहिएको उनले बताए । क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर तथा काम गरेर न्यायपूर्ण, समावेशी र लचिलो व्यवस्था निर्माण गर्न एवं दिगो विकास हासिल गर्न सकिनेमा उनको जोड थियो । यस्तो विश्वव्यापी समन्वयले कुनै पनि राष्ट्र पछाडि नछुट्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठनभित्र क्षेत्रीय सहयोग बढाउने आफ्नो प्रतिबद्धता रहेको दोहोर्याए ।
उनले दिगो भविष्यका लागि नियममा आधारित, समावेशी बहुपक्षीय प्रणालीको समर्थन गर्ने उल्लेख गर्दै सांघाई भावनालाई कायम राख्न, मित्रता, साझेदारी र असल छिमेकी सम्बन्धलाई सुदृढ गर्न आग्रह गरे । उनले बैठकको सफलताका साथै सांघाई सहयोग संगठनका सबै सदस्य राष्ट्रको निरन्तर प्रगति र समृद्धिका लागि नेपाली जनताका तर्फबाट शुभकामना व्यक्त गरे । रासस
प्रकाशित: १७ भाद्र २०८२ ०७:०० मंगलबार





