६ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

बाँदरले रित्तियो खेत, अदुवा-बेसारले भरिँदै छन् बारी

धरान वडा नं १६ को जोरसखुवाबाट झन्डै दुई किलोमिटर पश्चिम उत्तर उकालो लागेपछि पुगिने वडा नं २० को ‘तामासालिङ’ टोलमा कुनै बेला खेतबारीमा मकै, दाल र जुनेलो लहलहाउँथे। सिजनमा किसानका घरमा अन्न थन्क्याउने चटारो हुने गथ्यो। कुनै बेला ‘कार्कीछाप’ भनेर चिनिने त्यो स्थानमा यतिबेला दृश्य फेरिएको छ। यो टोलमा मकै, दाल र जुनेलो देख्न पाइँदैन। 

बाँदरका कारणले स्थानीयबासीले मकै, दाल र जुनेलो लगाउन छाडेका हुन्। उनीहरूका खेतमा केरा, अदुवा, बेसार र अमलिसो भेटिन्छ। ‘बाँदरका हुल आएर खेतमा लगाएका सबै बालीनाली खाइदिएपछि मकै, दाल र जुनेलो जोगाउन सकेनौं’, स्थानीय सुभाषमणि तामाङले भने, ‘बाली पाक्न नपाउँदै बाँदरले सखाप पार्न थालेपछि अन्नबाली लगाउनै छाड्यौं।’ अन्नबालीबाट हात झिकेका स्थानीयले बाँदरले कम नोक्सान गर्ने र आम्दानी दिन सक्ने बालीतर्फ ध्यान दिन थालेका हुन्।

त्यति गर्दा पनि बाँदरले किसानलाई सजिलै भने छाडेको छैन। ‘अन्नबाली सखाप पारेपछि त्यसको विकल्पमा अरू लगाउन थाल्यौं, अहिले घरको करेसाबारीमा लगाएको तरकारी पनि खाएर छिनभरमै नष्ट गर्ने गरेको छ’, सोही ठाउँकी सुशीला तामाङले भनिन्। उनका अनुसार बाँदरले अन्नबालीबाहेक अमलिसोको मुन्टासमेत चुँडेर खाने गरेको छ।

तामाङ समुदायको बाहुल्य रहेको यहाँका स्थानीयलाई परिवारको गर्जो टार्न गाह्रो भएपछि प्राय: युवापुस्ताका अधिकतर सवारी साधन चालकको काम गर्न थालेका छन्। ‘झन्डै २० जना युवा फरकफरक सवारी साधनको चालक बनेका छन्, कतिपय विदेश गएका छन्’, सोही बस्तीकी सुशीला तामाङ भन्छिन्, ‘जसरी पनि यहाँका बासिन्दाले गुजारा टार्दै आएका छन्।’

विदेश गएका र चालक काम गरेका युवाको कमाइले परिवारको खर्च धान्न सहज भएको स्थानीय बताउँछन्। नत्र घरव्यवहार चलाउन पूरै गाह्रो हुने सुशीलाको दाबी छ। घर खर्च चलाउन सहज होस् भनेर स्थानीयले पछिल्लो समय आम्दानीको अर्को बाटोका रूपमा आँप र लिच्चीलगायत फलफूलसमेत लगाउन थालेका छन्। तर फलफूल खेतीले पनि उनीहरूलाई पूर्ण राहत दिन सकेको छैन।

फलफूल पाकेर घरमै खाने वा राम्रो मूल्यमा बजारमा बेच्ने अवस्था आउनुअघि नै बिक्री गर्नुपर्ने बाध्यता छ। ‘पाक्छ अनि राम्रो दाम पाउँला भन्यो भने त सबै बाँदरले सखाप पारिहाल्छ’, उनले भनिन्। बाँदरको डरले फलफूल पाक्नुअघि नै टिपेर बेच्नुपर्ने अवस्था आउँछ। किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउने समय कुर्न सक्दैनन्। गाउँलेको साझा माग छ, ‘बाँदरबाट हामीलाई जोगाइदिने पर्‍यो।?’

धरान– २० कै अर्को बस्ती भञ्ज्याङका ७९ वर्षीय शुक्रबहादुर तामाङ पनि पछिल्लो समय बाँदर आंतकले गर्दा साह्रै चिन्तामा छन्। उनको १४ कट्ठा जग्गामा अन्नबाली लगाउँन पाउँदैनन्। त्यो जग्गामा बेसार, फर्सी, अमलिसो र अदुवा लगाउँछन्। यसबाट उनले पर्याप्त आम्दानी गर्न नसकेको बताए। ‘पहिला १४ कट्ठामा लगाएको अन्नबालीले वर्षभरि खान पुग्थ्यो, अब त बेसार बेचेर चामल किन्नुपर्छ’, उनले भने, ‘बाँदरकै पीडाले गर्दा जेठो छोरा त बसाइँ नै सरिसक्यो, अहिले मेरो साथमा कान्छो छोरा छन्।’ 

सोही ठाउँकी लक्ष्मी तामाङले बेसार, अमलिसो र अदुवा लगाएर जसोतसो परिवारको खर्च टर्ने बताइन्। ‘पहिला–पहिला बाँदर लाग्दैनथ्यो, अहिले त जंगल भएकै कारण होला ठुलो संख्यामा बाँदर आउने गरेका छन्।’ उनका अनुसार मेहनत गर्दा अदुवा र बेसार राम्रो हुन्छ। अदुवा र बेसारलाई बाँदरले नोक्सान पनि गर्दैन। ‘बाँदरलाई एक्लै खेदाउँदा त आइलाग्नसमेत थालेका छन् अनि जे लगाउँदा नोक्सान हुँदैन, त्यही लगाउन थालेका हौं’, भञ्ज्याङ डाँडाकै केमराज विश्वकर्माले भने, ‘अब त बाँदर पनि बाठा हुन थालेका छन्।’ कतिपय बाँदर त घरमा मानिस नभएको मौका पारेर घरकै खानेकुरा पनि खान थालेका छन्। ‘अहिलेका बाँदर असाध्ये चलाख छन्’, उनले भने। 

विश्वकर्माका अनुसार भञ्ज्याङका धेरैजसो मानिस भने धरानलगायतका स्थानमा गएर विभिन्नखाले श्रम गर्ने गरेका छन्। त्यही श्रमबाट प्राप्त भएको रकमले उनीहरूको परिवारको सबैथोक जोहो गर्ने गरेका छन्। ‘हाम्रो टोलका धेरैजसो पुरुष मजदुरी काम गरेर दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म कमाइ गर्छन्’, विश्वकर्माले भने। 

सरकारले केही वर्ष अघिदेखि विष्ण्ॉपादुकालाई ‘टार्गेट’ गरेर बेसार उत्पादन गरेको थियो। विष्ण्ॉपादुकापछि अहिले त बराहक्षेत्रको वडा नं १ को सूर्यकुण्ड क्षेत्रमा बेसार खेती व्यावसायिक रूपमा लगाउन थालिएको छ। धरान वडा नं २० र बराहक्षेत्र वडा नं १ मा गरी बेसार प्रति परिवार आठ–दस क्विन्टलसम्म वार्षिक उत्पादन गर्ने गरेका छन्। 

त्यसो त धरान उपमहानगरपालिकाको वडा नं १, २, ३ र १२ मा पनि बाँदरले सर्वसाधारणलाई दु:ख दिनदेखि बेलाबेलामा आक्रमण गर्ने गरेका छन्। यो समस्याबारे पछिल्लो समय धरानमा क्रियाशील राजनीतिक दलको मुख्य एजेन्डा नै बनेको छ। बाँदर आतंकले सर्वसाधारण आजित भएकाले सबै मिलेर पहल गर्नुपर्ने नेपाली कांग्रेस धरान उपमहानगर समितिका सभापति श्याम पोखरेलले बताए। बाँदरको उपद्रो नौलो होइन तर टोक्ने र झम्टिने गरेपछि त्रास बढ्दै गएको हो। धरान वडा नं १ की गंगा राईले केही समयअघि भान्सामै आएर आफूलाई बाँदरले टोकेको बताइन्। 

घरमा बसेकालाई मात्र होइन, बाँदरले बिहान मर्निङवाक गर्नेलाई समेत आक्रमण गर्ने गर्छन्। बिजुलीको तार चुँडाउने, पकाएको खाना खाइदिने, भाँडा फालिदिनेदेखि लिएर गरेको धरान वडा नं ३ का अनिल मास्के बताउँछन्।

धरानमा बाँदरको समस्या समाधानका निम्ति २०७२ सालमै बाँदर पीडित संघर्ष समितिसमेत गठन गरिएको थियो। बाँदर व्यवस्थापनका लागि सो संघर्ष समितिले स्थानीय तह, कोसी प्रदेश सरकार तथा संघीय सरकारलाई पटक–पटक ज्ञापनपत्रसमेत बुझाइसकेको छ। वन विभागलाई समेत ध्यानाकर्षण गराइसकेको छ। यस विषयमा पछिल्लो समय प्रदेशसभा र संघीय सभामा सभासद्ले आवाज उठाउँदै आएका छन्। यद्यपि अहिलेसम्म सरकारी स्तरबाट ठोस निर्णय हुन सकेको छैन। 

प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदीले आजको भोलि नै बाँदर व्यवस्थापन गर्न नसकिने बताए। ‘विश्वभरि बाँदरलाई मानिसले पल्काइरहेका छौं’, उनले भने, ‘फोहोर व्यवस्थापन नहुँदा बाँदर त्यसमा पनि पल्किएका छन् भने वनमा पर्याप्त खानेकुराको अभावले बस्तीतर्फ प्रवेश गर्न थालेका हुन्।’ विश्वभर त्यसमा पनि भारतमा बन्ध्याकरण गरेर संख्या घटेकाले गर्दा त्यही उपाय नेपालमा पनि अपनाउन सकिने सुवेदीले बताए। 

प्रकाशित: ६ आश्विन २०८३ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App