मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ब्रेक फेल हुँदा एक ह्विल लोडर सडकबाट करिब ८० मिटर तल खसेको छ।
दुर्घटनामा चालक घाइते भएका छन् भने लोडरमा सवार अर्का एक व्यक्तिले समयमै हाम फालेर ज्यान जोगाएका छन्।
दुर्घटना सोमबार दिउँसो २:५० बजे इन्द्रसरोवर–३ ज्यामिरेस्थित सिस्नेरी–काठमाडौं सडकखण्डमा भएको हो। प्रहरीका अनुसार, खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा.प्र.०३-००४ क ४४६३ नम्बरको लोडरको ब्रेक एक्कासी फेल भएको थियो।
ब्रेक फेल भएपछि अनियन्त्रित लोडर सडकको बायाँतर्फको भित्तामा ठोक्किँदै करिब ८० मिटर तल खसेको थियो।
दुर्घटनामा लोडर चालक महोत्तरीको टुटेश्वर नगरपालिका–५, बर्दिबासका ३१ वर्षीय अशोककुमार महत घाइते भएका छन्। उनको निधार र पेटमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी, सिस्नेरीबाट प्रहरी सहायक निरीक्षक राम प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
टोलीले तत्काल घाइते चालकको उद्धार गरी उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको छ। लोडरमा सवार अर्का व्यक्तिले भने दुर्घटना हुनुअघि नै हाम फालेकाले उनी सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८२ १८:५९ सोमबार





