२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

कृषिलाई जीवनशैली बनाउने सपना

टाई-सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई-सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने अनि काम सकेर फेरि टाई-सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने। यो दृश्यको परिकल्पना धेरैका लागि अझै अस्वाभाविक लाग्न सक्छ। कारण, हाम्रो समाजमा किसान भन्नासाथ झुत्रेझाम्रे, हातमुख जोर्न धौधौ पर्ने झलक अझै बलियो छ। कृषि पेशा पढेलेखेका युवाको अन्तिम विकल्प हो भन्ने सोच पनि गहिरोसँग जरा गाडेर बसेको छ तर विराटनगर महानगरपालिका–१ का सहकारीकर्मी, कृषि उद्यमी तथा सामाजिक अभियन्ता लोकेन्द्र थापाका लागि यो कुनै चलचित्रको दृश्य होइन, कृषिको सम्मानजनक, आधुनिक र सम्भावनायुक्त भविष्यको स्पष्ट परिकल्पना हो।

सचेतता कृषि सहकारी संस्थाका संस्थापक रहेका थापा लामो समयदेखि किसान हेर्ने परम्परागत दृष्टिकोणमाथि निरन्तर प्रश्न उठाउँदै छन्।

उनको दृढ विश्वास छ, किसानको जीवनशैली पनि कुनै अफिसर वा मन्त्रीको भन्दा कम हुनु हुँदैन। उनी भन्छन्, “कृषि पेसा बाध्यता होइन, गर्वको पेसा बन्नुपर्छ। माटोसँग जोडिनु कमजोरी होइन, बरु आत्मनिर्भरता, स्वाभिमान र सम्मानको प्रतीक हो।”

यही सोच बोकेर उनी कृषिको व्यवसायीकरण र प्रविधिकरणको यात्रामा अघि बढ्दै छन्, जसको एउटा सशक्त माध्यम बनेको छ सचेतता कृषि सहकारी।

युवालाई कृषिमा आकर्षित गर्ने र कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित उनको नेतृत्वमा २०७७ चैतमा सचेतता कृषि सहकारी संस्था दर्ता भएको हो।

मुलुकमा सङ्घीयता लागू भइसकेपछि विराटनगर महानगरपालिकामा दर्ता भएको पहिलो कृषि सहकारी भएको उनको दाबी छ।

सहकारीलाई सहकारीकै मर्म, मूल्य र सिद्धान्त अनुसार अघि बढाउनुपर्छ भन्ने विषयमा उनी अडिग देखिन्छन्। कृषि सहकारी भनेर दर्ता भए पनि धेरै संस्थाले बचत तथा ऋणको कारोबारमै आफूलाई सीमित राखेको देख्दा उनी असन्तुष्टि जनाउँछन्। उनी भन्छन्, “सहकारीको मूल आत्मा उत्पादन, सीप, साझा श्रम र सामूहिक लाभमा हुनुपर्छ, नकि केवल ब्याजदर र ऋण असुलीमा।”

लोकेन्द्र थापासँग नेपालको सुगम मात्र होइन, दुर्गम जिल्लासम्म पुगेर किसान, कृषि प्रणाली र कृषि प्रविधिसँग काम गरेको झण्डै दुई दशक लामो अनुभव छ। हिमाल, पहाड र तराईका फरकफरक भूगोलमा किसानका समस्या, सम्भावना र सीमा नजिकबाट देखेको यो अनुभवले उनलाई एउटै प्रश्नले निरन्तर पछ्याइरह्यो, किन कृषिमा यत्रो सम्भावना हुँदाहुँदै युवा पुस्ता यसबाट टाढिदै गयो? किन कृषकलाई सम्मानित जीवनशैलीसँग जोड्न सकिएन? किन कृषि अझै ‘अन्तिम विकल्प’ जस्तो बनिरह्यो? यही प्रश्नको उत्तर खोज्ने क्रममा उनले परम्परागत खेतीभन्दा फरक, नयाँ सोच र नयाँ प्रविधिसहितको कृषि अवधारणाको कल्पना गर्न थाले।

त्यो सोच व्यवहारमा उतार्ने निर्णायक क्षण भने कोभिड-१९ को बन्दाबन्दीसँगै आयो। २०७६ चैत ११ गतेदेखि देशभर बन्दाबन्दी सुरु भएपछि शहरका भान्सामा हरियो तरकारीको अभाव देखिन थाल्यो। अन्य खाद्यान्न जस्तो लामो समय भण्डारण गर्न नमिल्ने भएकाले तरकारी सङ्कट आउनु स्वाभाविक थियो। बजार सुनसान थिए, यातायात ठप्प थियो, तरकारीको मूल्य आकासिँदै थियो। त्यहीबेला चैत १५ गते एक बिहान घरको कौशीमा हावा खान निस्कँदा लोकेन्द्रको मनमा एक्कासि एउटा विचार आयो अब यो कौशी खाली राख्ने होइन, यहीँ खेती गर्नुपर्छ।

विचार सहज थियो तर व्यवहार जटिल। कौसीखेती भन्ने कुरा सुन्नेबित्तिकै धेरैले हाँसे, केहीले असम्भव ठाने। धेरैले उनले देखाएको कौशीखेतीको सम्भावना नपत्याएपछि आफ्नै कौसीबाट सुरु गर्ने निर्णय गरे। उनले कृषि विज्ञहरूसँग परामर्श लिए, कौशीखेती सम्बन्धी पुस्तक पढे, माटोको मिश्रणदेखि पानीको व्यवस्थापनसम्मका विषयमा सानासाना प्रयोग सुरु गरे।

सुरुका दिन सहज थिएनन्। उपयुक्त माटोको अभाव, मलको सन्तुलन, किराको प्रकोप, गर्मीका कारण बारम्बार पानी हाल्नुपर्ने बाध्यता र धेरै बिरुवा मर्ने अवस्थाले कहिलेकाहीँ मनोवैज्ञानिक रूपमा निराशा पनि थप्यो तर असफलतामै रोकिने उनको स्वभाव थिएन। बाँचिरहेका बिरुवाबाटै नयाँ बिरुवा तयार गर्ने, गल्तीबाट सिक्दै अघि बढ्ने प्रक्रियाले उनलाई थप ऊर्जा दियो। केही समयपछि कौशीमा हरियो तरकारी लहलहाउन थाल्यो।

आफ्नै कौशीबाट उत्पादन भएको तरकारी भान्सामा पुग्यो, त्यो तरकारी मात्र थिएन त्यो आत्मनिर्भरता, आत्मसम्मान र आत्मविश्वासको स्वाद थियो।

हरियो तरकारीको अभाव मात्र हटेन, अर्गानिक स्वादले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव देखिन थाल्यो। यही अनुभवले उनलाई थप उत्साहित बनायो र कौशीखेती अझ विस्तार कसरी गर्न सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन र प्रयोगको बाटो खोल्यो।

बन्दाबन्दीको दुई–तीन महिनापछि उनको कौशीमा उत्पादन भएका तरकारी बाहिरबाटै देखिन थाले। बिहान–बेलुका घरको बाटो भएर हिँड्ने मानिस, छिमेकीहरू रोकिएर जिज्ञासा राख्न थाले कसरी गर्नुभयो? कति खर्च लाग्यो? हामीले पनि गर्न सक्छौं? यही चासोले हिजो बाबुबाजेले गर्दै आएको परम्परागत खेती र आजको युवा पुस्ताले गर्न सक्ने आधुनिक, प्रविधियुक्त खेतीबारे छलफल र बहस सुरु गरायो।

लोकेन्द्रको घरको कौशी शहरभित्र कृषि सम्भावनाबारे संवाद हुने एउटा सानो केन्द्र जस्तै बन्न थाल्यो।

आफूले सुरु गरेको कौसीखेती तीन महिना पुग्दा नपुग्दै परिवारलाई पुग्ने तरकारी उत्पादन हुन थालिसकेको उनले बताउँछन्।

“त्यो बेलाको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नै पसिनाले उब्जाएको तरकारी खाँदा पाइने सन्तुष्टि, आनन्द र मानसिक शान्ति थियो”, उनी भन्छन्, “यो अनुभूति आफूमा मात्र राख्नु हुँदैन भन्ने सोच झन् बलियो हुँदै गयो। यो अनुभव समुदायमा कसरी लैजान सकिन्छ भन्ने प्रश्नले उनलाई निरन्तर घच्घच्याइरह्यो। त्यही खोज, निरन्तर छलफल र विचारविमर्शको परिणामस्वरूप सचेतना कृषि सहकारीको अवधारणा जन्मिएको लोकेन्द्र बताउँछन्।

कोभिड महामारी सुरु हुनुअघि नै भूकम्पपछिको पुनः स्थापना अवधिमा गैरसरकारी संस्था मार्फत झुम्का कृषि तालिम केन्द्रमा कोशी प्रदेशका १४ जिल्लाका सहभागीहरूसँग सहजीकरण गर्ने क्रममा उनले वैदेशिक रोजगारीबाट फर्किएका करिब २५० युवासँग कृषि सम्बन्धी धारणा र सोचबारे संवाद गरेका थिए।

त्यतिबेला युवाको सोच बुझ्दै जाँदा कृषिलाई कार्यालय संस्कृतिसँग र किसानलाई अधिकृतसरहको जीवनशैलीसँग जोड्न सके युवा पुस्ता देशमै त्यो पनि कृषि क्षेत्रमा रोक्न सकिन्छ भन्ने दृढविश्वास उनीभित्र विकास भयो।

व्यक्तिगत रूपमा सुरु गरिएको कौशीखेतीलाई व्यापक बनाउने उद्देश्यले सहकारीको संरचना अघि आएको हो।

हाल उनले आफ्नो घरको छत र थोरै जग्गामा विभिन्न किसिमका तरकारी उत्पादन गर्दै छन्। नयाँनयाँ प्रविधिको प्रयोग गरेर खेती गर्छन्। कौशीखेती गर्न चाहनेलाई निःशुल्क तालिम दिन्छन्, थोपा सिँचाइ प्रणाली सिक्न चाहनेलाई व्यावहारिक रूपमा सिकाउँछन्।

“आफूले सिकेको सीप सबैसँग बाँड्नुपर्छ”, लोकेन्द्र भन्छन्, “त्यसरी मात्रै सामूहिक परिवर्तन सम्भव हुन्छ।”

भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा धेरै हुने यथार्थप्रति उनी गहिरो चिन्ता व्यक्त गर्छन्। सस्तो र सजिलोका नाममा हामीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरिरहेको उनको ठम्याइ छ। “मेरो चाहना हो, कसैको भान्सामा विषादी नपुगोस्”, उनी भन्छन्, “त्यसका लागि सहकारी मार्फत उत्पादन र उपभोग जोड्ने प्रयास गर्दै छाैं।”

हाल सहकारीमा करिब १५० जना शेयर सदस्य छन्। उत्पादन, तालिम र चेतना मार्फत विस्तारै सहकारीको उद्देश्य पूरा हुँदै जानेमा उनी आशावादी छन्।

उनका अनुसार आधुनिक कृषिमा ठूलो चुनौती भनेकै उन्नत बीउको उपलब्धता र त्यसको विश्वसनीयता हो। खेती गर्ने कृषि क्यालेन्डरबारे ज्ञानको अभाव, प्रविधिसँग अपरिचित हुनु र कृषि पेसालाई हेर्ने नकारात्मक दृष्टिकोण पनि मुख्य समस्या हुन् तर यिनै चुनौती अवसरमा बदल्न सके कृषिले नयाँ उचाइ लिने लोकेन्द्रको विश्वास छ।

 कृषि कार्यले पेट भर्ने मात्र होइन, बिरुवा र माटो थेरापी मार्फत मानसिक र शारीरिक स्वास्थ्य सुधारमा योगदान पुर्‍ याउँछ। “कौशीखेती उत्पादनको माध्यम मात्र होइन, तनाव व्यवस्थापन र आत्मिक सन्तुलनको बलियो आधार पनि हो”, उनी भन्छन्।

शिक्षा मन्त्रालयले ९ कक्षाको नेपाली पाठ्यपुस्तकमा ‘करेसाबारी’ पाठ समावेश गरिनुले कृषि शिक्षाको महत्त्व बुझिन थालेको सङ्केत भएको उनी मान्छन्।

केही समयअघि विराटनगर–१ स्थित राधाकृष्ण विद्यालय, जेम्स स्कुल लगायतका विद्यालयमा कौशीखेती र करेसाबारीबारे व्यावहारिक ज्ञान दिन छलफल गर्दा सुरुमा अपेक्षित प्रतिक्रिया नआए पनि अहिले विराट बहिरा स्कुल निकै सकारात्मक देखिएको र छलफल अघि बढिरहेको लोकेन्द्र बताउँछन्।

कौशीखेतीले सहर सफा र सुन्दर बनाउन पनि सहयोग पुर्‍याउने उनको धारणा छ। सहरका प्रत्येक परिवारले कौशीखेती वा करेसाबारी अपनाएमा मल र जैविक विषादीका लागि सडक किनारका झारपात प्रयोग गर्न सकिने उनको अनुभव छ।

लोकेन्द्र थापाको सपना एउटै छ, जब कुनै युवाले टाईसुटमै खेतबारीमा काम गरिरहेको किसान देखोस् र उसको मनमा पनि कृषि पेसा रोज्ने हुटहुटी जागोस्। किसानको जीवनशैली देखेर कृषि भविष्यको पेसा हो भन्ने अनुभूति होस्। विराटनगरबाट सुरु भएको यो सोचले आज कृषिको नयाँ कथा लेख्न थालेको छ, जहाँ माटो, प्रविधि र सम्मान एउटै धरातलमा उभिएका छन्।

- जुनु भट्टराई/रासस

प्रकाशित: ११ पुस २०८२ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App