कपिलवस्तुको सबैभन्दा पुरानो र ठूलो सिँचाइ आयोजना, बाणगंगा सिँचाइ प्रणालीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरोकारवालाहरूले माग गरेका छन्।
साढे चार दशकअघि निर्माण भएको यो आयोजना बजेट, कार्यक्रम र समन्वयको अभावमा जीर्ण बन्दै गएको र आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको उनीहरूको गुनासो छ।
सोमबार बाणगंगा सिँचाइ व्यवस्थापन कार्यालयले तौलिहवामा आयोजना गरेको सरोकारवालाबीचको बैठकमा बोल्दै बाणगंगा जलउपभोक्ता मूल समितिका अध्यक्ष मोहन शर्मा दाहालले आयोजनाको दुर्दशाबारे ध्यानाकर्षण गराए।
‘यति ठूलो आयोजनाका लागि वार्षिक ६ करोड रुपैयाँ मात्र बजेट हुनु दुःखद हो,’ उनले भने, ‘बजेट अभावले लक्ष्मणघाट बाँध र जगदीशपुर जलाशयको संरक्षण, नहर सरसफाइ र जग्गा विवाद समाधान जस्ता काम हुन सकेका छैनन्।’
अध्यक्ष दाहालका अनुसार, १५७ हेक्टरमा फैलिएको जगदीशपुर जलाशयको ठूलो भाग बालुवा र झारपातले पुरिँदा पानी भण्डारण क्षमता घटेको छ। ‘निर्माण भएदेखि जलाशयको सरसफाइ समेत भएको छैन,’ उनले भने।
जगदीशपुर जलाशय बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले सिँचाइका लागि निर्मित ताल विश्व सिमसार क्षेत्रमा सूचीकृत र पंक्षी संरक्षण क्षेत्र घोषणा हुँदा पानी निकास र आयआर्जनका गतिविधि (माछापालन, डुङ्गा सञ्चालन) मा कानुनी अड्चन आएको बताए।
उनले वातावरणीय प्रभाव मूल्याङ्कन गरी कृषकलाई पानी र जैविक विविधतालाई असर नपर्ने गरी सन्तुलित कदम चाल्न माग गरे।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, बाणगंगा र कपिलवस्तु नगरपालिकाका वडाध्यक्षहरू करुण टन्डन, दुनिका भुसाल, मोहनलाल शर्मा र रवीन्द्र तिवारीले नहरलाई व्यवस्थित गरी कृषकलाई आवश्यक परेका बेला पानी उपलब्ध गराउन आग्रह गरे।
बैठकमा बोल्दै बाणगंगा सिँचाइ व्यवस्थापन कार्यालयकी प्रमुख कोफुला श्रेष्ठले प्रणालीलाई व्यवस्थित गर्न सबैको साथ आवश्यक रहेको बताए।
कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल र प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले ६,३५० हेक्टरमा सिँचाइ सुविधा पुर्याउने यो प्रणालीलाई व्यवस्थित गर्न आ-आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: ३० असार २०८२ २०:२५ सोमबार





