सर्लाहीमा बसको चक्कामा चेपिएर एक स्कुले बालिकाको ज्यान गएको छ।
सर्लाहीको ब्रह्मपुरी गापा वडा नम्बर ७ मोहनगञ्जस्थित भित्री सडकखण्डमा स्थानीय रमेश महतोकी ५ वर्षीया छोरी आशिका महतोको बसको चक्कामा चेपिएर ज्यान गएको हो।
ईश्वरपुर नगरपालिका वडा नम्बर १ चौलिखामा सञ्चालित टेमुको एकेडेमी स्कुलको म.प्र. ०३-००१ क २५४२ नम्बरको बसले विद्यार्थीहरूलाई छुट्टीपछि घर छाड्ने क्रममा सोही स्कुलमा अध्ययनरत छात्रा महतो बसबाट तल झर्ने क्रममा बसको पछाडिको चक्काले चेपिएर गम्भीर घाइते भएकी थिइन्।
बसको चक्काले चेपिएर गम्भीर घाइते भएकी महतोलाई उपचारका लागि जीवन नारायण अस्पताल बयलबास सर्लाहीमा लगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरे।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल मलङ्गवा राखिएको र बस चालक फरार रहेको घटनाबारे गहन रूपमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले बताए।
प्रकाशित: १२ श्रावण २०८२ १९:५९ सोमबार





