९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पत्रकार महिलाहरूको अक्षय कोषमा ५१ लाख संकलन

झापाको नारी संचार गृहले पत्रकार महिलाहरूलाई पत्रकारितामा प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरेको अक्षय कोषमा ५१ लाख रुपैयाँ संकलन भएको छ।

संस्थाले यो कोषको ब्याजबाट १ लाख रुपैयाँ नगद राशिको नारी संचार साधना पत्रकारिता पुरस्कार र २५ हजार रुपैयाँ नगद राशिको नारी संचार युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

विसं २०६८ मा पत्रकारितामा महिलालाई आकर्षित गर्ने, संगठित गरेर तालिम दिने र पेसामा टिकाइराख्न प्रोत्साहन गर्ने लक्ष्यसहित सावित्रा दाहालको अध्यक्षतामा नारी संचार गृह स्थापना भएको थियो। संस्थाले विसं २०७५ मा अक्षय कोषका लागि रकम जुटाउन सुरु गरेको हो।

‘पूर्वअध्यक्ष अम्बिका भण्डारीले १० हजार रुपैयाँ जम्मा गरेर अक्षय कोषको थालनी गर्नुभएको थियो,’ संस्थाकी पूर्वअध्यक्ष भीमा शिवाकोटीले भनिन्, ‘उहाँको कार्यकालमा देउसीभैली खेलेर र पालिकाहरूबाट सहयोग जुटाएर अक्षय कोषमा २५ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको थियो। मेरो कार्यकालमा कोष बढाएर ३४ लाख रुपैयाँ पुर्‍याएका थियौं।’

उनका अनुसार निवर्तमान अध्यक्ष रेजिना गौतमको कार्यकालमा अक्षय कोष बढाएर ५१ लाख रुपैयाँ पुर्‍याएको हो। दाताहरूले कोषमा सहयोग गर्ने क्रम जारी रहेकाले १ करोड रुपैयाँसम्म पुर्‍याउने संस्थाको नयाँ लक्ष्य रहेको गौतमले बताइन्।

महिला पत्रकारहरूद्वारा मोफसलमा स्थापित यो सबैभन्दा ठूलो राशिको अक्षय कोष र पुरस्कार हो। संस्थाले हरेक वर्ष महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकारितासम्बन्धी विभिन्न तालिम संचालन गर्दै आएको अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिइन्।

नारी संचार गृहले पत्रकार महिलाहरूको हितका लागि रचनात्मक काम गर्दै आएकाले जिल्लाका विभिन्न सामाजिक संघसंस्था र पालिकाहरूले अक्षय कोष बढाउन सहयोग पुर्‍याउँदै आएको उनको भनाइ छ।

नेपालकी पहिलो महिला सम्पादक साधना प्रधानको स्मृतिमा संस्थाले महिला पत्रकारहरूलाई दिनेगरी नारी संचार साधना पत्रकारिता पुरस्कार स्थापना गरेको हो। हालसम्म सावित्रा दाहाल र अम्बिका भण्डारी गरी दुई जना पत्रकार यो पुरस्कारबाट सम्मानित भएका छन्। युवा प्रोत्साहन पुरस्कारबाट सुष्मा राजवंशी र चिरञ्जीवी घिमिरे पुरस्कृत भएका छन्। रासस

प्रकाशित: २७ असार २०८२ २०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App