शासनसत्ताले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएपछि विरोधका अनेकन् शैलीहरू हुन्छन्।
जतिबेला एउटा पक्षको मात्र वकालत गर्नुपर्ने थियो, त्यतिबेला बहुसंख्यक मानिसहरूले आफ्नो विचार बन्धक भएको महसुस गरिरहेका थिए। तर उनीहरू संगठित भएर एकै पटक सडकमा आउने अवस्था थिएन, सत्ताको बुल्डोजरले उनीहरूको मतलाई क्षतविक्षत बनाइदिन्थ्यो। यस्तो अवस्थामा साहित्यकारहरूले चेतानमूलक सिर्जनामत्क कला देखाइरहेका थिए।
बुटपालिस अभियान २०३१ सालमा कविताराम श्रेष्ठ, मोहन घिमिरे, ध्रुव सापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, सन्तोष भट्टराई, नारायण ढकाल, तेज खरेल, काशीनाथ तमोट, आनन्द जंगली, हरि न्यौपाने, विनोद रिमाल, बद्री घिमिरे, विश्वनाथ न्यौपाने, भवानी घिमिरे, प्रेम कैदीले सुरु गरेका थिए। यसको उद्देश्य तत्कालीन सत्ताले जनताको विचारमाथि लगाएको प्रतिबन्धलाई खुला गर्नु थियो।
बुट पालिस आन्दोलनबारे ‘जक्सन पिपलबोट’मा साहित्यकार, लेखक प्रकाश गुरागाईले राम्रोसँग उधिनेको र खोजेर लेखेको पाइन्छ। नयाँ सडकलाई जुत्ताको माध्यमबाट चर्चित बनाउनेहरू भने साहित्यकार भए पनि त्यसका राजनीतिकर्मीहरूको पनि सहभागिता थियो। जसले गर्दा साहित्यकारहरूको ‘बुट पालिस आन्दोलन’ले तत्कालीन सरकारसमेत झस्किएको थियो। त्यस आन्दोलनले भारतीय पत्रिकाहरूमा पनि राम्रो स्थान पाएकाले अझ यो आन्दोलनको उचाइ बढेको महसुस गरेका थिए।
जानकारहरूका अनुसार ३१ सालमा साहित्यकारहरूले गरेको बुट पालिस आन्दोलन नयाँ र सिर्जनात्मक भने थिएन। ठुलो संख्यामा लेखक, साहित्यकारहरू सहभागी हुनु यसको सफलता मानिएको र उचाइमा ल्याएको मानिएको थियो । जक्सन पिपलबोटमा उल्लेख भएअनुसार त्यसअघि २०१२/१३ सालतिर कम्युनिस्ट पार्टीमा संलग्न सदानन्द शर्माले पहिलोपटक सडकमा बसी जुत्तामा पोलिस लगाएर ‘विद्रोह’ गरेका थिए। सार्वजनिक ठाउँमा जुत्ता पोलिस गर्ने उनी पहिलो बाहुन थिए।
पिपलबोटमा जमघट भएका कृष्णभक्त, द्वारिका, पुरुषोत्तमलगायत साहित्यकारले पञ्चायत चुनावको खिल्ली उडाउन नयाँ सडकमा जुत्तामा पालिस गर्नेलाई उम्मेदवार बनाउने सल्लाह गरे। त्यसका लागि उनीहरूले काले सार्कीलाई उक्साएको शैलेन्द्र साकारले जानकारी दिएका छन्।
सदानन्द तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्य थिए। तर, कम्युनिस्ट पार्टीका गतिविधिसँग असन्तुष्ट थिए। पार्टी आन्तरिक विवादमा फस्दै गएको थियो। तल्लो वर्गका मान्छेको मुद्दामा केन्द्रित हुन सकेको थिएन। कार्यकर्ता भोकै पर्ने अवस्था थियो। नेता विवादमा व्यस्त थिए। त्यसैको विरोधमा उनी नयाँ सडकमा जुत्ता पालिस लगाउन बसेका थिए। उनले लामै समय जुत्तामा पालिस लगाएर गुजारा गरे। त्यति बेला धेरैले उनलाई सार्की ठानेर अछुतकै व्यवहार गर्थे। पछि रक्सी पनि खान थाले। उनको राजनीति दिगो हुन सकेन।
साहित्यकारहरूको बुट पालिस आन्दोलनको प्रभाव शक्तिशाली थियो। त्यही प्रभावले २०३२ सालतिर शाहीकालीन मन्त्री दुर्गा पोखरेलले पनि पीपलबोटमा यस्तै आन्दोलन गरेकी थिइन्। सरकारले प्राध्यापकबाट निष्काशन गरेको विरोधमा उनले दुई हप्तासम्म बुट पालिस गरेकी थिइन्।
सरकारले विभिन्न राजनीतिक अभियोग लगाएर २०३२ साउनमा एकैपटक सत्र जनालाई प्राध्यापकबाट बर्खास्त गरेको थियो। यसरी निकालिनेमा दुई जना मात्र महिला थिए, दुर्गा पोखरेल र सहाना प्रधान। दुर्गा कांग्रेसको राजनीतिमा थिइन् भने सहानाका श्रीमान् पुष्पलाल कम्युनिस्ट पार्टीको एउटा समूहको महासचिव थिए। डा. दुर्गा पोखरेल तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा २०६२ मंसिर २२ देखि २०६३ वैशाख १९ गतेसम्म पाँच महिना महिला तथा बालबालिका राज्यमन्त्रीसमेत भएकी थिइन्। यो विषयलाई पुस्तकमा राम्रोसँग चर्चा गरिएको छ। लेखक गुरागाईंले दिएको जानकारीअनुसार कांग्रेस नेता शाह पनि यो आन्दोलनमा सहभागी भएका थिए।
बुटपालिसपछि अर्को आन्दोलन भएको थियो सडक कविता क्रान्ति। २०३६ सालको विद्यार्थी आन्दोलन नेपालको राजनीतिक इतिहासमा एक महत्वपूर्ण घटना भयो। खासमा पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको विरोधमा पाकिस्तानी दूतावासमा नेपाली विद्यार्थीहरूले विरोधपत्र बुझाउन जाने क्रममा भएको झडपको बहानामा सुरु भएको विद्यार्थी आन्दोलन विस्फोटक भएपछि त्यसबेलाको सत्ता जनमत संग्रहतर्फ उन्मुख भयो।
साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’का अनुसार भवानी घिमिरेको आह्वानमा सडक कविता क्रान्ति सुरु भएको थियो। ‘२०३६ जेठ २६ केही युवा तथा अग्रज साहित्यकारहरू पिपलबोट मुनिको गफगाफ सकेर अर्को चरणको गफगाफ र चियाको लागि मोतीमहल रेष्टुराँमा पसेका थियौं। चिया पिउने उपक्रम चल्दै थियो, अचानक त्यहाँ आएर भानु पत्रिकाका सम्पादक तथा साहित्यकार भवानी घिमिरेले घोषणा गरे– ‘भोलिदेखि बहुदलका लागि सडकमा कविता क्रान्ति हुँदै छ, इच्छुकहरू आउनुहोला। भोलि साँझ ५ बजे, पिपलबोटमुनि’ साहित्यकार प्रेरणाले आफ्नो एउटा आलेखका उल्लेख गरेका छन्।
२०३६ जेठ २७ मा पिपलबोटमुनिको उत्तरपूर्वी कुनामा भवानी घिमिरेको उद्घोषका साथ सडकमा कविता क्रान्ति सुरु भएको थियो। अशेष मल्ल, मोहन कोइराला, हरिभक्त कटुवाल, गगन विरही, किशोर पहाडी, लव गाउँले, गोविन्द गिरी प्रेरणा, भवानी घिमिरेसहित करिब १० जना थिए। त्यसपछि सुरु भएको त्यो कविता क्रान्ति २०३६ असार २७ गते न्युरोड पिपलबोटमै आएर टुंगिएको थियो। त्यसबिच कविता क्रान्ति रत्नपार्क ढोका, डिल्लीबजार पिपल बोट चौतारो, बानेश्वर देवकोटा चोक, बानेश्वर बत्तिस पुतली, गौशाला, पशुपति देवपाटन, चावहिल, कोपुन्डोल, पाटन मंगलबजार, पाटन ढोका, जावलाखेल चौर, लगनखेल, कालिमाटी, भक्तपुर न्यातपोल खुमा टोल, बानेश्वर, कमलाक्षी इनबहाल, कीर्तिपुर सोह्रखुट्टे पाटी, क्षेत्रपाटी, सिंहदरबार ढोका, बागबजार, कमलपोखरी, असन डबली, अमृत साइन्स क्याम्पसको ढोका, बालाजु, महाराजगन्ज, जैसीदेवल, भाटभटेनी, ठहिटी, बनेपा, पकनाजोल, लगन, काठमाडौं गणेशस्थान, कुसुमबयँलाक्षीमा भएका थिए।
कुल ३२ दिनमा ३६ ठाउँमा काठमाडौं उपत्यकामा सम्पन्न भएपछि सडक कविता क्रान्तिको टोली काठमाडौंबाहिर असार २९ गते तनहुँदेखि १ साउनसम्म पोखरामा सम्पन्न गरेर २ साउनमा पोखरा काठमाडौं बस यात्रामा समेत कविता क्रान्तिका कविता पढिएको थियो। त्यतिबेला सडक कविता क्रान्तिको विषयमा तत्कालीन समयमा नेताहरूले विभिन्न धारणा राखेका थिए। टंकप्रसाद आचार्य, बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, केशरजंग रायमाझी, विष्णुबहादुर मानन्धर, प्रा. डोरबहादुर विष्ट, डा. वासुदेव त्रिपाठी, डा. जयराज आचार्यलगायतले आफ्नो तर्क र टिप्पणी गरेका थिए।
यसप्रकारको आन्दोलन २०४६ सालको सरस्वती सदनमा गएर टुंगिएको थियो। त्यतिबेला वयोवृद्ध कवि युद्धप्रसाद मिश्र खम्बाजस्तै उभिएका थिए, पारिजातले सत्ताविरुद्ध हुंकार छेडेकी थिइन्। त्यतिबेला युद्धप्रसाद मिश्र, पारिजात, डायमन्ड शमशेर, भुवनलाल प्रधान, सत्यमोहन जोशी, वाशु शशी, कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, उत्तम नेपाली, मोहन कोइराला, शक्ति लम्साल, रुद्र खरेल, आनन्ददेव भट्ट, दुर्गालाल श्रेष्ठ, निनु चापागाईं, ध्रुवचन्द्र गौतम, खगेन्द्र संग्रौला, रामेश, रायन, महजोडी, गोविन्द वर्तमान, शारदा शर्मा, मोहन खड्कालगायत सय बढी साहित्यकारहरू सहभागी भएका थिए। त्यतिखेर पनि सत्ताको ललीपपमा रमाउनेहरू प्रशस्तै थिए।
नेपाली शान्तिका लागि साहित्य क्रान्ति
–मोतीमण्डली (१९३८) : मोतीराम भट्ट
–रसिक समाज (१९६२) : देवीदत्त पराजुली, दधिराम मरासिनी, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, दुर्गाप्रसाद घिमिरे, दामोदर प्याकुरेल, अग्निधर अधिकारी, कालिदास पराजुली, शिखरनाथ सुवेदी
–जोग मण्डली (१९६७) : जोगविरसिंह उदास
–हलो क्रान्ति (२००६) : शेषकान्त अधिकारी, पं. तोयनाथ अधिकारी
–लेकाली सांस्कृतिक अभियान (२०२४) : हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला श्रेष्ठ, निरा श्रेष्ठ, निर्मला श्रेष्ठ, शशी भण्डारी, तीर्थ शेरचन, न्हुछेमान डंगोल, नवलकिशोर राई
–अस्वीकृत जमात (२०२६) : कविताराम श्रेष्ठ, शैलेन्द्र साकार, पुष्कर लोहनी, भाउपन्थी, अन्जिर प्रधान, प्रकाश प्रेमी, प्रेम नारायन प्रेमी, इन्द्र राजभण्डारी, नेपाल भूषण न्यौपाने
–बुटपालिस अभियान (२०३१) : कविताराम श्रेष्ठ, मोहन घिमिरे, ध्रुव सापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, सन्तोष भट्टराई, नारायण ढकाल, तेज खरेल, काशीनाथ तमोट, आनन्द जंगली, हरि न्यौपाने, विनोद रिमाल, बद्री घिमिरे, विश्वनाथ न्यौपाने, भवानी घिमिरे, प्रेम कैदी
–सडक कविता क्रान्ति अभियान (२०३६) भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल
–आरोहण : रंगमञ्चीय अभियान (२०३८) : बद्री अधिकारी, सुनिल पोखरेल, निशा शर्मा, सूर्यमाला शर्मा, अनिल पाण्डे, सुरेन्द्र नकर्मी, सोमनाथ भट्टराई, नवराज श्रेष्ठ, नवराज खनाल, विधान आचार्य, राजेन्द्र सलभ
–सर्वनाम सडकनाटक अभियान (२०३८) : अशेष मल्ल, किशोर पहाडी, रमण घिमिरे, दीपक पौडेल आदि
–सिर्जना चैत्र–३ अभियान (२०५४) : खगेन्द्र संग्रौला, रामेश, राजकुमार केसी, नारायण ढकाल, विमल निभा, खगेन्द्र अधिकारी, राजेन्द्र महर्जन, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइँटेल
–विशेष रंगवाद अभियान (२०६१) : धर्मेन्द्रविक्रम नेम्वाङ
प्रकाशित: ११ वैशाख २०८३ १०:२९ शुक्रबार





