अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफै जाहेरी लिएर जिल्ला प्रहरी परिसर कार्यालय काठमाडौंमा पुगेको छ।
२४ भदौमा अख्तियारको केन्द्रीय कार्यालय टंगालमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग गर्दै अख्तियारको तर्फबाट जाहेरी दर्ता गरिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मंगलबार जिल्ला परिसर काठमाडौंमा अख्तियारको तर्फबाट जाहेरी दिइएको हो।
पौडेलका अनुसार करिब २४ करोड रुपैयाँ क्षति भएको ब्यहोरासहित जाहेरी दिइएको हो।
२४ भदौमा टंगालस्थित अख्तियारको कार्यालयमा प्रवेश गरेर प्रदर्शनकारीहरूले विधि विज्ञान प्रयोगशाला कक्ष, प्रशासन महाशाखामा आगजनी गरेका थिए। त्यस्तै, कम्प्युटर, ल्यापटप, मोबाइललगायतका उपकरणसमेत लुटपाट गरिएका थिए।
पार्किङमा राखिएका सवारी साधनसमेत प्रदर्शनकारीले जलाएका थिए। ’आयोगको कार्यालयमा लुटपाट आगजनी र तोडफोडमा भएको क्षतिको मूल्याङ्कन गरी दोषी उपर कारबाही गर्न जिल्ला प्रहरी परिसरमा जाहेरी दिएका छौं’, प्रवक्ता पौडेलले भने।
जेन-जी आन्दोलनको भोलीपल्ट आपराधिक जत्थाले अख्तियारभित्र पसेर आगजनी गरेको थियो।
प्रदर्शनकारीबाट व्यापक आगजनी र तोडफोड हुन थालेपछि अख्तियारका कर्मचारी सुरक्षित बसेका थिए। अख्तियारभित्र सुरक्षाकर्मी सादा पोसाकमा तैनाथ थिए।
बाहिर रहेको भीडलाई करिब ३ घण्टासम्म निरन्तर सम्झाउँदै–फर्काउँदै गरेर अख्तियारलाई सुरक्षाकर्मीले सुरक्षित राखेको भएपनि साँझ पख आगो लगाएका थिए।
अख्तियारका प्रवक्ता पौडेलका अनुसार २० वटा कम्प्युटर फुटाइएको छ। १० वटा प्रिन्टर, ६ वटा ल्यापटप, १० वटा कम्प्युटर लुटिएका छन्।
इलेक्ट्रोनिक्स डिभाइस १० वटामा आंशिक र १३ वटामा पूर्ण क्षति पुर्याइएको छ। केन्द्रीय कार्यालयसहित २१ वटा भवनमा आंशिक र एउटा भवन पूर्ण रूपमा क्षति भएको थियो।
टंगालस्थित कार्यालय परिसरमा रहेका १६ वटा चारपांग्रे, ५७ वटा २ पांग्रे सवारीसाधनमा पूर्ण र चारपांग्रे १६ र दुईपांग्रे एउटामा आंशिक क्षति भएको थियो।
प्रकाशित: १८ कार्तिक २०८२ २१:०० मंगलबार





