२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

थारू समुदायको भोदी खेल : परम्पराको जगेर्नामा जुट्दै युवा

परम्परागत भोदी खेल संरक्षणमा यहाँका थारू समुदायले अग्रसरता लिएका छन्। थारू समुदायको मौलिक परम्परागत खेलका रूपमा रहेको भोदी खेल संरक्षणका लागि समुदायकै पहलमा प्रतियोगिता आयोजना गरिएको छ। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डास्थित थारू सङ्ग्रहालयको परिसरमा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा शुक्रबार जिल्लास्तरीय पुरुष र महिला भोदी खेल प्रतियोगिता सञ्चालन भयो। प्रतियोगिताले लोपोन्मुख अवस्थामा पुगेको खेलको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास लिइएको अध्ययन केन्द्रका अध्यक्ष खन्सराम महतोले बताए।

थारू समुदायको संस्कृति र परम्परासँग जोडिएको भोदी खेल पछिल्ला वर्षमा खेल्ने क्रम घट्दै गएपछि संरक्षणको अभियान स्वरूप प्रतियोगिता आयोजना गरिएको हो। भोदी खेललाई आकर्षक ढङ्गले नयाँ पुस्तामा परिचित गराउन सकियो भने यो केवल खेल मात्र नभई सांस्कृतिक सम्पदा र सामूहिक एकताको प्रतीकका रूपमा स्थापित हुन सक्ने अध्यक्ष महतोले बताए। भोदी खेल थारू समुदायको पुरानो खेलका रूपमा कायम रहने उनले बताए।

भोदी खेलमा एक समूहमा दश जना खेलाडी सहभागी हुन्छन्। उनीहरूले पालैपालो झटारो हानेर भुइँको खाडलमा राखिएका दशवटा लट्ठी (थारू भाषामा टाँचा) निकाल्ने नियम हुन्छ। खेलअनुसार एउटा समूहलाई निश्चित समय दिइन्छ। निर्धारित समयमा सबैभन्दा धेरै लट्ठी खाडलबाट निकाल्ने समूह विजेता बन्छ।

युवाको सक्रिय सहभागिताले यस परम्परागत खेलको संरक्षण र पुस्तान्तरणमा ठूलो सहयोग पुगेको अध्ययन केन्द्रका उपाध्यक्ष राजकुमार महतोले बताए। शुक्रबार थारू समुदायको परम्परागत र मौलिक खेलको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए।

धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो खेल विशेषतः युवा समूहबीच खेलिन्छ। बलपूर्वक लट्ठी हान्नुपर्ने भएकाले युवाको सहभागिता आवश्यक हुन्छ। थारू अगुवा गणेशमान महतोका अनुसार अनत चतुर्दशी पर्वको अवसरमा यसलाई विशेष महत्त्वका साथ खेलिन्छ। यतिबेला यहाँका थारू बस्तीमा भोदी खेलको रौनक छाएको महतोले बताए।

शुक्रबार भएको प्रतियोगितामा जिल्लाका साठीभन्दा धेरै पुरुष र महिला समूहको सहभागिता थियो। यसले थारू समुदायको भोदी खेलको महत्त्व थप बलियो बनेको उनले बताए।

अनत पर्वमा गरिने उपवासले गुमाएको सम्पत्ति फिर्ता गराउन सक्ने धार्मिक मान्यता रहेको राष्ट्रिय थारू सङ्ग्रहालय अध्ययन केन्द्रका सल्लाहकार गणेशमान महतोले बताए। द्वापर युगमा कौरव र पाण्डवबीचको द्वन्द्वमा कौरवले छलकपट गरी पाण्डवको श्रीसम्पत्ति हरण गरेपछि पाण्डवले गुमेको सम्पत्ति फिर्ताका लागि अनत पर्वको उपवास गर्ने निधो गरेको र सो क्रममा पर्वमा सबैलाई सहभागी र उत्साहपूर्ण बनाउन भोदी खेल आयोजना गरिएको धार्मिक कथन रहेको उनले बताए। 

सोही धार्मिक कथनबाट भोदी खेल आएको र अहिले पनि अनत पर्वको अवसरमा धुमधामका साथ खेल्ने गरिएको महतोले बताए। भोदी खेल थारू समुदायले खेल्ने मौलिक खेल रहेकाले यसको संरक्षणमा सरकारले पनि चासो दिनुपर्ने उनले बताए।

प्रकाशित: १४ भाद्र २०८२ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App