१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

थमन विक हत्या प्रकरण: पूर्व एमाले सांसद कोइरी दोषी ठहर, पाँच वर्ष कैद सजाय

महोत्तरीमा कार्यरत तत्कालीन असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतबाट सफाइ पाएका नेकपा (एमाले)का पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गरेको छ। अदालतले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको हो।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गर्ने निर्णय गरेको हो।

यसअघि जिल्ला अदालतले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिने फैसला सुनाएको थियो।

जिल्ला अदालतको उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश सांसद अभिराम शर्मा पक्षसहितले उच्च अदालतमा पुनरावेदन दिएका थिए।

पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको निर्णय संशोधन गर्दै कोइरीलाई दोषी ठहर गरेको हो।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिइ लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते विकलाई उद्दार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पु‍र्‍याएको थियो। घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला ल्याउँदै गर्दा महोत्तरी वडा नम्बर ८ सनोखडाको धान खेतमा आन्दानेलनकारीले हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ।

Open photo
Open photo

प्रकाशित: १७ असार २०८३ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App