२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

बालविवाह गरेर पछुताउँदै किशोरीहरू

जुम्लाको सिंजा गाउँपालिका-१ जाँच गाउँकी मानुसी आचार्य (नाम परिवर्तन) अहिले २७ वर्षकी भइन्। उनले १७ वर्षको किशोरी उमेरमा आमा बनिन्। उनकी ११ वर्षकी छोरी छिन्। २०७० सालको चैतमा भैरव माध्यमिक विद्यालय नराकोटबाट एसईई परीक्षा दिइन्। 

रिजल्ट नआउँदै २०७१ साल वैशाख १९ गते उक्त गाउँपालिका-३ नराकोट गाउँमा प्रेम विवाह गरिन्। त्यो बेला केटा उच्च मावि ११ मा पढ्थे। असारमा एसईईको रिजल्ट आयो। मानुसी पास पनि भइन्। छोरी जन्मदा गर्भावस्थामा घरमा झगडा सुरु भयो। श्रीमानले आमा र दिदीको कुरा सुन्न थालेपछि सम्बन्धमा फाटो आयो। पढाइमा पूर्ण रोक लाग्यो। जेनतेन ९ वर्षसम्म पतिको घरमा हरेक पीडा र दुख लुकाएर बस्न बाध्य भइन्। जन्मिएको छोरी मेरो होइन भनी श्रीमानले आरोप लगाए। कुटपिट र मार्ने धम्की पनि आयो। 

उनले भावुक हुँदै मलिन अनुहारमा गुनासो गरिन्। विभिन्न समयमा पीडा भोगेपछि २०८१ साल भदौ ५ गते जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिइन्। अदालतले ०८२ वैशाख ३१ गते सम्बन्धविच्छेदको फैसला सुनायो। अन्ततः उनीहरू छुट्टिए। आचार्यका सपनाहरू सिसा टुक्रिएझैं भए। अहिले उनी माइतीको सहारामा बाँचेकी छिन्। जेनतेन बाबुआमा र भाइहरूसँग बसेको सुनाइन्। सानैमा विवाह गरेका कारण उनले पढ्न पाइनन्। पढाइ बीचमै छोडेकाले मजदुरीबाहेक अरू काम पाउन सकिनन्। ‘अहिले गाउँ नजिकको सहकारीमा काम गर्न थालेकी छु, जे भए पनि बाँच्नैपर्छ,’ उनले भनिन्, ‘पछुतोमा जलिरहेकी छु, सानैमा विवाह गर्नु गल्ती भयो।’  

यस्तै, जुम्लाको दुर्गम पातारासी गाउँपालिका-१ गडिगाउँकी चन्द्ररूपा बुढा (नाम परिवर्तन) ले १६ वर्षमै विवाह गरिन्। कक्षा ६ मा पढ्दापढ्दै भागेर विवाह गरिन्। उनी २८ वर्षकी भइन्। उनका दुई छोरा र सात महिनाकी छोरी छिन्। ‘पढाइमा असर पर्‍यो, गुजारा चलाउन गाह्रो छ,’ उनले भनिन्। ‘घरायसी कामले पढ्न सकिनँ।’ छोराछोरीका लत्ताकपडा, पढाइको कापी-कलम र घरखर्च जुटाउन वर्षभरि मजदुरी गर्नुपर्ने बाध्यता छ। ‘सानैमा विवाह गर्दा अहिले पछुतो भयो। साथीहरू स्थायी जागिरे छन्, राम्रो पदमा पुगे,’ उनले भनिन्।  

यस्तै, सिंजा गाउँपालिका-६ भाडगाउँकी बसन्ती रावत (नाम परिवर्तन) २६ वर्षकी भइन्। उनले विवाह गरेको ९ वर्ष भयो। उनका दुई छोरा छन्। नजिकको कैलाश मावि फुङ्ग्रमा कक्षा पढ्दापढ्दै प्रेम विवाह गरिन्। ‘पढ्ने उमेरमा लहैलहैमा विवाह गरेँ,’ उनले लजाउँदै भनिन्, ‘विवाह गरेको वर्षमै पढाइ रोकियो। दुई सन्तान गर्भमा खेर गए। सानैमा आमा बन्दा घरायसी बोझ थपियो।’ बालविवाहका कारण उनको नागरिकता बनेन। दुई छोराको बालभत्ता पनि वडाबाट पाइन्। ‘यो सब बालविवाहको असर हो,’ उनले भनिन्, ‘त्यो बेला बुझिनँ, अहिले बुझ्दैछु, मेरो जीवनको पीडाको कारण बालविवाह हो।’  

मानुसी, चन्द्ररूपा र बसन्ती समाजका प्रतिनिधि पात्र मात्र हुन्। राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ३७.९ प्रतिशत बालविवाह हुन्छ। नेपालको संविधानले पुरुष र महिलाको विवाहको उमेर २० वर्ष तोकेको छ। कर्णालीमा १८ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ३७.९ प्रतिशत छ। जसमध्ये जुम्लामा ३४.७ प्रतिशत, कालिकोटमा २८.१ प्रतिशत, मुगुमा ३५.९ प्रतिशत, सल्यानमा ४३ प्रतिशत, रुकुम पश्चिममा ४२.३ प्रतिशत, जाजरकोटमा ४०.८ प्रतिशत, सुर्खेतमा ३८.७ प्रतिशत, डोल्पामा ३२.१ प्रतिशत, हुम्लामा ३३.७ प्रतिशत, दैलेखमा ३५.२ प्रतिशत छ।  

कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २०७९ यता २० वर्षमुनिका १६ हजार ४२ किशोरीहरू अस्पताल वा घरमा सुत्केरी भएका छन्। आर्थिक वर्ष २०७९/८० मा ६ हजार ४५७, २०८०/८१ मा ५ हजार ५४४ र २०८१/८२ मा ४ हजार ४१ किशोरी आमा बनिन्। कर्णालीमा पाठेघर खस्ने समस्यासँग जुधिरहेका महिलाको संख्या ७ हजार २६२ छ। आर्थिक वर्ष २०७९/८० मा अस्पतालमा सुत्केरी भएका २० वर्षमुनिका किशोरी ८८७, २०८०/८१ मा ८६५ र २०८१/८२ मा ६१५ छन्। सुत्केरी हुने क्रममा १८ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क तीन वर्षको हो।  

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो तीन आर्थिक वर्षमा २० वटा बालविवाहविरुद्धका मुद्दा दर्ता भए। सुर्खेतमा १०, दैलेखमा ६, कालिकोटमा ४ र हुम्लामा १ मुद्दा दर्ता भएको छ। बाँकी ६ जिल्लामा यस्ता मुद्दा परेका छैनन्।  

नेपालको संविधानको धारा ३९ मा बालविवाह गर्न नपाइने व्यवस्था छ। धारा ३९ को उपधारा ५ मा बालविवाह, गैरकानुनी ओसारपसार र अपहरणमा दण्ड सजाय हुने व्यवस्था छ। मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने उल्लेख छ। कानुनविपरीत भएको विवाह स्वतः बदर हुन्छ। ‘बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। मुलुकी देवानी संहिताले विवाहको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, नभए विवाह बदर र अमान्य हुने व्यवस्था गरेको छ। संविधानले २० वर्ष नपुगी विवाह गर्नु र गराउनु कानुनी अपराध मानेको छ।

प्रकाशित: १७ श्रावण २०८२ १७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App