१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

सेवा प्रवाहलाई सेवाग्राहीमैत्री बनाउँदै ताप्लेजुङ प्रशासन

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता र पासपोर्ट सहितका कागजातमा तोक लगाउने तथा अन्तिम कागजमा हस्ताक्षर गर्ने अधिकारीलाई कार्य अवधिभर सम्बन्धित फाँटमै राख्न थालेको छ । सेवाग्राहीलाई तोक आदेश दिने सहितका काममा कोठा–कोठा कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रशासन कार्यालयले सेवा प्रवाहमा एकद्वार नीति लागू गरेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।

नागरिकता सहितका कागजातको प्रारम्भिक चरणको रुजु गरी अन्य कामका लागि सम्बन्धित फाँटमा पठाउने काम सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट हुँदै आएको थियो । प्रशासन कार्यालयले सेवा प्रवाहमा बिचौलियाको प्रभाव हुन नदिन बढीभन्दा बढी जनसम्पर्क हुने कार्यालयहरूमा सूक्ष्म अनुगमन समेत थालेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सेढाईंले जिल्ला प्रशासन कार्यालयमा यसअघि बाट नै नागरिक सहायता कक्ष, डिजिटल सूचना प्रणाली, स्तनपान कक्ष, सेवाग्राही विश्रामस्थल, राहदानीको निःशुल्क अनलाइन फारम भरिदिने व्यवस्था, कार्यालय प्रयोजनका आवश्यक पर्ने कागजातको प्रतिलिपिको निःशुल्क वितरण सहितका सेवाहरू नियमित भइरहेको बताए ।

जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र अन्य यस्तै सेवाग्राहीको बढी चाप हुने सेवा प्रदायक निकायहरूमा बिचौलियाको प्रभाव हुन नदिइएको र पछिल्लो अवस्थाबारे कार्यालयले नियमित अनुगमन सुरु गरेको सेढाईंले जानकारी दिए ।

“हामी कामको प्रकृति अनुसार एउटा झ्यालबाट छिरेको फाइल काम सकिएपछि फेरि त्यहीँ झ्यालबाटै सेवाग्राहीलाई फिर्ता दिने सोच अनुसार अघि बढेका छौं,” सेढाईंले भने ।

उनले जिल्ला प्रशासन कार्यालय सहितका सेवा प्रदायक निकायहरूमा अब ‘घुमफिर’ को प्रणाली अन्त्य गर्ने बताए । जिल्लाका सार्वजनिक निकायहरूले प्रदान गरिरहेका वस्तु तथा सेवा प्रवाहको नियमितता, गुणस्तरीयता, छिटो छरितोपन र चुस्त तथा दुरुस्त कार्य प्रणालीबारे कार्यालयले योजना बनाएर प्रगति हासिल गर्ने लक्ष्यमा अघि बढेको सेढाईंले बताए ।

सुशासन सहितको सेवाग्राहीमैत्री र उत्तरदायी सेवा प्रदान गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका कार्यालय प्रमुखहरूको बैठकमार्फत समेत योजना बनाइएको र उक्त योजना अनुसार अघि बढ्न सम्बन्धित कार्यालय प्रमुखलाई मार्गनिर्देशन समेत प्रदान गरिएको सेढाईंको भनाइ छ ।

प्रकाशित: १९ चैत्र २०८२ १६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App