काठमाडौंको नरदेवीनजिकै रहेको ताम्सीपाखामा रहेको प्रहरी बिटको मुहार फेरिएको छ। टिनको सानो टहरामा बसेर प्रहरीले सेवा दिँदै आएकोमा त्यहाँ काठमाडौंको ऐतिहासिक सभ्यतासमेत झल्कने गरी बिटको निर्माण गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले नवनिर्मित बिटको शुक्रबार उद्घाटन गरे। काठमाडौं महानगरपालिका–१८ को सहयोगमा सो बिटको स्तरोन्नति गरिएको हो।

एसएसपी अधिकारीका अनुसार काठमाडौंभित्र रहेका ७३ वटा बिटमध्ये करिब दुई दर्जन बिटको भौतिक अवस्था जीर्ण छ। त्यस्ता बिटलाई स्तरोन्नति गर्ने अभियान काठमाडौं प्रहरीले सुरु गरेको छ। यसका लागि स्थानीय तह तथा स्थानीय नागरिकसँग सहकार्य गरेर अघि बढ्ने योजना छन्।
‘जनतासँग सबैभन्दा नजिक रहेर काम गर्ने भनेको बिटका प्रहरी हुन्,’ एसएसपी अधिकारीले भने, ‘त्यसकारण जीर्ण ठाउँमा बसेर काम गर्न उनीहरूलाई गाह्रो हुने भएकाले हामीले वृत्तदेखि बिटसम्म भन्ने अभियान अघि बढाउन लागेका छौँ।’ त्यसअन्तर्गत ताम्सीपाखाको बिट पहिलो र नमुना भएको प्रहरीले जनाएको छ। अन्य वृत्तलाई पनि यसैगरी नयाँ बनाउन प्रहरीले छलफल थालेको छ।

प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी कृष्ण चन्दले बिट निर्माणका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सघाउने सबैलाई धन्यवाद दिए। काठमाडौं महानगरपालिका–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले प्रहरीलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।
प्रकाशित: २१ भाद्र २०८२ १४:१० शनिबार





