२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

टक्सार बजार : राणाकालीन सुनको सम्पदा संरक्षणको पर्खाइमा

औद्योगिक, व्यापारिक र सांस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ। ‘सानो पाटन’ को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ।

दर्जनौं धार्मिक र सांस्कृतिक स्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीय अम्रिका तामाकार बताउँछन्। ‘ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो,’ उनले भने, ‘तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ। यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ।’

विसं १८७२ देखि १८८७ सम्म टक्सारमा डोली पैसा बन्थ्यो भन्ने ऐतिहासिक तथ्य छ। तत्कालीन नेपाल सरकारले विसं १८७० देखि पूर्वी पहाडका जिल्लामा खनिज पदार्थ उत्खनन थालेपछि टक्सारमा अड्डा स्थापना भएको थियो।

यहाँ विसं १९९३ मा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भिमसेन थान, तीन धारा लगायतका धार्मिक स्थल छन्। बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन्। ‘टक्सारमा दर्जनौं धार्मिक स्थल छन्,’ उनले भने, ‘जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन्। बजार नै जीर्ण बनेकाले यी क्षेत्र ओझेलमा परेका छन्।’

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ।

विसं २०१३ मा तत्कालीन राजा महेन्द्र शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेका थिए। त्यस समयमा करिब २००–३०० परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको स्थानीयको भनाइ छ। टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको स्थानीय बताउँछन्। रासस

प्रकाशित: १४ भाद्र २०८२ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App