१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

स्याउले सिप्टिङ होमस्टे : आठपहरिया समुदायको आतिथ्य र पहिचानको प्रतिक

तस्बिर: शिखा श्रेष्ठ

नेपालको पूर्वी पहाडमा उक्लँदा भेटिन्छ- एक गाउँ, जहाँ पर्यटक केवल पाहुना होइन, परिवारका सदस्य बन्छन्। धनकुटाको हरियाली डाँडामाथि, बिहानको निश्‍चल हावासँगै सुनजस्तै टल्किने घामका किरणहरू जब स्याउले सिप्टिङमा छर्छ, त्यहीँबाट सुरु हुन्छ- नेपालकै लोपन्मुख आठपहरिया समुदायको आत्म–गौरव र अतिथि सत्कारको कथा।

नेपालको जनगणना अनुसार २०७८ आठपहरियाहरूको संख्या ५ हजार ८७८ जना रहेको नेपालको तथ्यांक विभागमा उल्लेख छ। नेपालको पूर्वी भेग अरुण र तमोर नदीबीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको एक सीमान्तकृत आदिवासी जनजाति ‘आठपहरिया’ ले धनकुटा नगरपालिका वडा नम्बर ३ स्याउलेमा स्याउले सिप्तिङ आठपहिरिया सामुदायिक होमस्टे सञ्‍चालन गरेका छन्। होमस्टेको सुरुवातका लागि इन्टिग्रेटेड सेन्टर फर माउन्टेन डेभ्लप्मेन्ट (ईसिमोड) र कम्युनिटी होमस्टे नेटवर्क (सीएचएन) ले गरेका थिए भने आतिथ्य सत्कार र क्षमता विकासका लागि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्‍चालित जिविकोपार्जन पुनर्उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले संस्कृति प्रबर्द्धन गर्न धनकुटा नगरपालिकासँग सहकार्य गरेका थिए। संख्या सानो तर सांस्कृतिक सम्पदामा समृद्ध  रहेको यस समुदायले सञ्चालन गरेको होमस्टे अहिले स्थानीय पर्यटनको नयाँ पहिचान बनेको छ।

यहाँका पाहुनाको स्वागत कुनै होटलको औपचारिकता जस्तो होइन- मौलिक संस्कृतिको झलक देखिन्छ। पाहुना आउँदा घरका  भने घरका आमा–दिदीहरूले रातो टीका, फूलको माला र हर्षको मुस्कानसहित स्वागत गर्छन्। त्यसपछि हातमा राखिन्छ- मौरीको मह मिसाइएको पाी - जसले 'स्वाद पनि आफ्नो, सन्देश पनि आफ्नै' भन्ने भाव बोकेको हुन्छ। त्यसपछि पाहुनालाई होमस्टे र समुदायको इतिहास, संस्कार र संस्कृतिबारे जानकारी गराइन्छ। आठपहरिया समुदायले आफ्नो पहिचान र परम्परा जोगाउँदै पर्यटनलाई आत्मसात् गरेका छन्। त्यसपछि सुरु हुन्छ अनुभवको यात्रा—कृषि, संस्कृति र प्राकृतिक सुन्दरताको संगम।

स्याउले सिप्तिङ पुग्ने जो–कोहीको ध्यान पहिला सुन्तला बगैँचातिर तानिन्छ। पाहुनाहरू बगैँचामा हिँड्दै स्थानीय कृषकसँग संवाद गर्छन्—सुन्तला खेती, मह उत्पादन र स्थानीय बीउ संरक्षणबारे। होमस्टेले पाहुनालाई केवल बास मात्र होइन, जीवनशैलीको अध्ययन र अनुभव पनि दिन्छ। गत वर्ष यस होमस्टेमा ७२ जना पर्यटकलाई स्वागत गर्ने मौका पाएको होमस्टेका अध्यक्ष हिराबहादुर राईले जानकारी दिएका छन्। उनका अनुसार २४ जना अन्तर्राष्ट्रिय र बाँकी आन्तरिक पर्यटक थिए। यस वर्ष यो संख्या बढ्दै ८२ मा पुगेको छ। यहाँको आतिथ्य, हरियाली, र आत्मीयताले नै पाहुनाको मन जितेको हो। एक रातमा १७ जना पाहुनालाई बास दिनसक्ने गरी विकास गरिएको यस होमस्टेले अब सामुदायिक पर्यटनको नमूना प्रस्तुत गरेको छ। पाहुनाहरूको स्वागत, मनोरञ्‍जन, संस्कृतिको जगेर्ना र नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी गराउने उद्देश्यले हरेक बेलुका स्थानीय सांस्कृतीक नृत्यहरू प्रस्तुत गरिन्छ।

स्याउले सिप्तिङ पुग्ने जो कोही पाहुनाको अर्को आकर्षण हो- साततले झरना र गुफा। सामुदायिक होमस्टेदेखि १५ मिनेटको गाडीको यात्रापछि करिब डेढ घण्टा पैदल यात्रा गरेपछि पहाडको मुटुबाट बगेको झरनाको देख्न पाइन्छ। झरना पुग्‍नुभन्दा एक किलोमिटरको अघि साततले गुफा पनि रहेको छ। यो सम्पूर्ण क्षेत्रलाई पहुँचयोग्य बनाउन एसटीपीले पदमार्ग निर्माण गरिदिएको छ। यसले होमस्टेलाई मात्र होइन, सम्पूर्ण गाउँलाई पर्यटन मानचित्रमा समेटेको छ। 

आठपहरिया समुदाय नेपालको लोपन्मुख जातिहरूमध्ये एक हो- उनीहरूको आफ्नै भाषा, गीत, नृत्य र परम्परा छ। पछिल्लो समय आधुनिकतासँगै संस्कृति हराउने चिन्ता हिराबहादुरलाई छ। उनी भन्छन्, 'हामीले त पुर्खाहरूबाट सिक्यौं। तर, नयाँ पुस्ताले आधुनिकतामा रमाएर आफ्नो संस्कृति छोड्दै जाँदा इतिहास नै मेटिन्छ कि जस्तो लाग्छ। त्यसपछि अहिले हामीले संस्कृति हस्तान्तरण र सिकाइका लागि हरेक साँझ सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेका छौं।' उनले पर्यटनलाई संस्कृति संरक्षणको माध्यम बनाइरहेको पनि बताएका छन्। होमस्टे यहाँ केवल व्यवसाय मात्र नभएर संस्कृति जीवित राख्ने प्रयासको रुपमा हेर्न सकिन्छ। पाहुनाले यहाँ बास गर्दा केवल प्रकृति मात्र हेर्दैनन्, उनीहरू जीवनको एक पुरानो अध्यायसँग भेट गर्छन्—जहाँ सम्बन्ध, श्रम र माटोको गन्ध मिसिएको छ।

स्थानीय युवाहरू यस परियोजनामा सक्रिय छन्। उनीहरू पर्यटन व्यवस्थापन, पाहुना सेवा र गाइडिङमा दक्ष बन्दै गइरहेका छन्। तर, अझै सहज पहुँचका लागि होमस्टेसम्म जोड्ने बाटो बनाउन सहयोगका लागि सरकारसँग स्थानीय समुदायले आग्रह गरेका छन्। होमस्टेको अवलोकन भ्रमणपश्‍चात दीगो पर्यटन परियोजनाका अधिकृत खगेन्द्र खड्काले भने, 'स्याउले सिप्तिङ सामुदायिक होमस्टेले नेपालमा सांस्कृतिक पर्यटनको नयाँ परिभाषा दिइरहेका छ। स्याउले सिप्तिङको साँझमा जब ढोल बज्छ र आठपहरियाहरू परम्परागत नृत्यमा रमाउँछन्, पाहुना पनि सँगसँगै नाच्छन्। त्यो क्षणमा संस्कृति, प्रकृति र मानवीय आत्मीयता एकै ठाउँमा मिसिएको अनुभव हुन्छ। यसले ग्रामीण अर्थतन्त्रमा सशक्त प्रभाव पार्ने मात्र नभएर संस्कृति जगेर्नामा पनि कोशेढुंगा सावित हुनेछ।'

यस्तै प्रकृतिको काखमा माटोको सुगन्धमा रमाइरहेका आठपहिरियाहरूको सक्रियतामा सञ्‍चालित सामुदायिक होमस्टेहरूको आतिथ्यता र संस्कृतिप्रतिको लगाव देख्दा लाग्छ-  नेपाल केवल हेर्ने देश होइन, अनुभूतिको संगालो हो।'

प्रकाशित: २२ कार्तिक २०८२ १०:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App